देश

परराष्ट्रमन्त्री खनाल दिल्ली जाने तयारी, भारतीय समकक्षी जयशंकरसँग छलफल गर्ने

योहो संवाददाता

रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणबाट फर्किर्एलगत्तै परराष्ट्रमन्त्री शिशिर खनाल औपचारिक भ्रमणमा नयाँदिल्ली जाने भएका छन् । भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा मन्त्री खनाल आगामी शनिबार तीनदिने भ्रमणका लागि दिल्ली जाने तयारी बताइएको छ ।

परराष्ट्रमन्त्रीका रूपमा खनालको यो पहिलो औपचारिक विदेश भ्रमण हुनेछ । यसअघि खनाल मौरिससमा आयोजित नवौं हिन्द महासागर सम्मेलनमा सहभागी भएका थिए । त्यस क्रममा उनले भारतीय समकक्षी जयशंकर र अन्य केही नेतासँग भेटवार्ता गरेका थिए । मौरिससमा खनाल र जयशंकरबीच बदलिएको परिवेशमा नेपाल–भारत सम्बन्धलाई अगाडि बढाउने विषयमा छलफल भएको थियो । नेपालको नयाँ सरकारका प्राथमिकताहरूबारे काठमाडौंमा विस्तृत रूपमा छलफल गर्न सहमतिसमेत भएको थियो । जयशंकरले नयाँ सरकारसँग संवाद गर्न र प्राथमिकता बुझ्न विदेशसचिव विक्रम मिस्रीलाई काठमाडौं पठाउने प्रस्ताव गरेका थिए ।

तर, प्रधानमन्त्री वालेन्द्र शाहले ‘प्रोटोकल’ कारण देखाउँदै भेट्न अस्वीकार गरेपछि मिस्रीको भ्रमण स्थगित भएको थियो । यहीबीचमा भारत र चीनले नेपाली भूभाग लिपुलेक हुँदै कैलाश–मानसरोवर यात्रा पुनः सुरु गर्ने निर्णय गरेपछि विवाद बल्झिएको छ ।

परराष्ट्रमन्त्री खनालले दिल्लीमा सरकारको प्रतिनिधित्व गर्दै भारतीय समकक्षी जयशंकरसँग छलफल गर्ने तय गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटका लागि भारतीय पक्षलाई परराष्ट्रले अनुरोध पठाइएको छ ।