देश

प्रथम अन्तराष्ट्रिय आरोग्य दिवस मनाइयो, नेपाललाई आरोग्य पर्यटन गन्तव्यका रूपमा स्थापित गर्नुपर्नेमा सभामुखको जोड


काठमाडौं— आज अन्तराष्ट्रिय आरोग्य दिवस मनाइएको छ । हरेक वर्ष आरोग्य दिवस मनाउन नेपालले गरेको प्रस्तावलाई संयुक्त राष्ट्रसङ्घको महासभाले गत फागुन २६ गते अनुमोदन गरेपछि यसै वर्षदेखि विश्वका विभिन्न देशमा यो दिवस मनाइँदै छ ।

समग्र स्वास्थ्य, सुख र सन्तुलित जीवनशैली प्रवद्र्धन गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको महासभाले अप्रिल १५ लाई अन्तरराष्ट्रिय आरोग्य दिवसका रूपमा घोषणा गरेको हो । सस्तो, सुलभ र समावेशी स्वास्थ्य अभ्यास अवलम्बन गर्न सबैलाई प्रेरित गर्नु यो दिवसको लक्ष्य हो । संयुक्त राष्ट्रसङ्घले आदिवासी जनजाति र स्थानीय समुदायका संस्कृतिहरू तथा परम्परागत ज्ञानको महत्त्वलाई स्वीकार गर्दै प्रमाणमा आधारित परम्परागत चिकित्सापद्धतिले स्वास्थ्य प्रणाली सुदृढ बनाउन र समग्र स्वास्थ्य प्रवद्र्धनमा योगदान पुर्‍याउने उल्लेख गरेको छ ।

दिगो विकास लक्ष्यको तेस्रो बुँदामा स्वास्थ्यलाई उच्च प्राथमिकतामा राख्दै सबै उमेर समूहका मानिसका लागि स्वस्थ जीवन सुनिश्चित गर्ने यसको लक्ष्य छ । मातृ तथा शिशु स्वास्थ्य, सरुवा तथा नसर्ने रोग नियन्त्रण, आवश्यक औषधि तथा खोपमा पहुँच, मानसिक स्वास्थ्य प्रवद्र्धन र स्वास्थ्य असमानता न्यूनीकरण यस लक्ष्यका प्रमुख प्राथमिकता हुन् ।

‘अन्तर्राष्ट्रिय आरोग्य दिवस’ को अवसरमा काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख डोलप्रसाद अर्यालले नेपाललाई सस्तो गन्तव्यको रूपमा नभई उच्च मूल्य, गहिरो अनुभव र दिगो विकासमा आधारित आरोग्य पर्यटन गन्तव्यका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका छन् । सभामुख अर्यालले नेपाललाई ‘बजेट गन्तव्य’ को ट्यागबाट मुक्त गरी ‘प्रिमियम आरोग्य गन्तव्य’ को रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।

पर्यटकको संख्या गनेर मात्र देशको आर्थिक समृद्धि सम्भव नहुने सभामुख अर्यालले बताए । उनले प्रकृति, संस्कृति र आध्यात्मिकतालाई एकीकृत गर्दै नयाँ पर्यटन मोडेल विकास गर्नुपर्ने र यसका लागि स्पष्ट नीति, राष्ट्रिय आरोग्य मोडेल र स्थानीय समुदायको साझेदारी आवश्यक रहेको बताए ।