देश

अप्ठ्यारोमा फसे कुलमान, रास्वपामा हेलामा परे, मन्त्री छोड्न सकेनन्, हितेन्द्रले खोलिदिए असलियत (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं— एक कुशल कर्मचारीको परिचय बनाएर उदाएका कुलमान घिसिङ अहिले नेपाली राजनीतिको मूलधारसम्म आइपुगेका छन् । गल्लीका चिया पसलदेखि राजनीतिक बहसका मञ्चहरूसम्म उनको चर्चा–परिचर्चा हुँदै आएको छ । तर, उनको निश्चल सामाजिक छवि र लोकप्रियता जति चुलिएको छ, उनीमाथिका प्रश्न र विवादहरू पनि उत्तिकै देखिन थालेका छन् । नेपाल विद्युत् प्राधिकरणको प्रमुखदेखि मन्त्री हुँदै रास्वपाको उपसभापतिसम्म आइपुग्दा उनले विभिन्न नैतिक प्रश्न र आरोपहरूको सामना गरिरहनु परेको छ । गत भदौ २४ गते सडकमै उत्रिएर ‘जेनजी’ को पक्षमा बालेन शाहलाई समेत आन्दोलनमा आउन आह्वान गरेका घिसिङ, सोही आन्दोलनपछि बनेको अन्तरिम सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास गरी तीन महत्वपूर्ण मन्त्रालयको नेतृत्वमा पुगे । पार्टी खोल्ने होडबाजी चलिरहेकै बेला उनले आफ्नै संरक्षकत्वमा ‘उज्यालो नेपाल पार्टी’ घोषणा गरे, तर विडम्बना ! एक महिना नबित्दै सो पार्टीलाई रास्वपामा समाहित गराए । यही राजनीतिक यात्राबीच उनका केही यस्ता कदमहरू छन्, जसले उनीमाथि निरन्तर प्रश्न उठाइरहेको छ ः