देश

प्रविधिमा उदांगियो एमाले, जेनजीले डिस्कोर्टबाट सत्ता ढाले, बुढा नेतालाई भोटिङ मेसिन नै घाँडो (भिडियोसहित)

योहो संवाददाता

काठमाडौँ— नेकपा एमालेले ११औँ महाधिवेशनमा विद्युतीय भोटिङ मेसिन प्रयोग गर्दै नेतृत्व चयन गर्ने निर्णयलाई ‘आधुनिकता’ र ‘पारदर्शिता’को उदाहरणका रूपमा प्रस्तुत गरिएको छ । पार्टी नेतृत्वले यसलाई भविष्यका आम निर्वाचनमा समेत विद्युतीय मतदान यन्त्र (इभीएम) प्रयोग गर्न सकिने प्रमाणका रूपमा व्याख्या गरेको छ । तर, काठमाडौंको भृकुटीमण्डपमा देखिएको व्यावहारिक अनुभवले प्रविधिको प्रयोगभन्दा बढी निर्णय र व्यवस्थापनको कमजोरी उजागर गरिदिएको छ ।
जेनजी आन्दोलनको पृष्ठभूमिमा बनेको अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई नवयुवाहरुले अनलाइन मतदानमार्फत छानेको चर्चाका बीच एमालेले महाधिवेशनमा प्रविधिको प्रयोगलाई ऐतिहासिक बनाउने प्रयास गरेको छ । तर, त्यही ‘आधुनिक अभ्यास’ महाधिवेशनको मतदान प्रक्रियाका लागि जटिल बनेको देखियो । विद्युतीय मतदानका लागि उम्मेदवारको डाटा प्रविष्ट गर्ने तथा प्रतिनिधिहरुमा मतदान गर्ने प्राविधिक ज्ञानको कमीले विद्युतीय मतदान प्रक्रिया व्यवहारिक रुपमा झन्झटिलो बन्न पुगेको देखियो । फलतः मंगलबार हुनु पर्ने मतदानको कार्यक्रम नै सारेर बुधबार गर्नु पर्ने अवस्था आयो ।