देश

छुटेका दुर्गाको सन्देश–चुप नबस्ने, राजनीतिक योजना बुन्दै, फेरि थुन्न सर्वोच्च गुहार्दै सरकार पक्ष (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं—आफूलाई बाघ सम्झने मेडिकल व्यवसायी दुर्गा प्रसाईं साढे तीन महिनापछि प्रहरी हिरासतबाट बाहिर निस्किएका छन् । उच्च अदालत, पाटनले ‘उनी तत्काल निर्दोष रहेछन् भन्न नसकिने भए पनि क्यान्सर रोगबाट पीडित रहेको’ विषयलाई समेत मध्यनजर गर्दै सोमबार धरौटीमा छाड्ने आदेश दिएसँगै रिहा भएका हुन् । गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको हिंसात्मक प्रदर्शनको नेतृत्व गरेको अभियोगमा चैत २८ गते भारतको असामबाट पक्राउ गरी नेपाल ल्याइएको थियो । पक्राउपछि जिल्ला अदालत, काठमाडौंबाट पुर्पक्षका लागि थुनामा पठाइएका प्रसाईंलाई उच्च अदालत पाटनले बैंकिङ कसुरमा २५ लाख र राज्यविरुद्धको कसुरमा ३ लाख सहित कुल २८ लाख धरौटी तोक्दै रिहाइका लागि आदेश दिएको थियो । अदालतको आदेशसँगै सोमबार राति रिहा भएका प्रसाईंले आफू गणतन्त्र ल्याउनकै लागि छ महिना सैनिक हिरासतमा बसेको स्मरण गर्दै अहिले यही व्यवस्थाका कारण नेपाली नागरिक विदेशिन बाध्य भएको र देश तस्करको हातमा पुगेको आरोप लगाए । आफ्नो लडाइँका कारण परिवारले समेत दुःख पाएको बताउँदै उनले श्रीमती र छोराछोरीलाई बैंकिङ कसुरको मुद्दा लगाइएकोमा आक्रोश व्यक्त गरे । प्रसाईंले अब फरक ढंगले आफ्नो अभियानलाई अगाडि लैजाने बताएका छन् ।