समाचार

१६५ युवा सांसदले लिए शपथ

योहो संवाददाता

उज्यालो नेपाल अभियानका संयोजक कुलमान घिसिङको प्रमुख आतिथ्यमा बिहिबार काठमाडौँको सभागृहमा राष्ट्रिय युवा सांसदको सपथ ग्रहण समारोह एवं प्रशिक्षण कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको छ । देशका १६५ निर्वाचन क्षेत्रबाट निर्वाचित युवा सांसदहरूलाई ग्लोबल एफ पार्लियामेन्टका अध्यक्ष दिवाकर अर्यालले पद तथा गोपनीयताको सपथ रहेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि कुलमान घिसिङले बत्तीको उज्यालोले मात्रै देश समृद्धि नहुने भएकाले स्वास्थ्य शिक्षा पूर्वाधार कृषि लगायतका क्षेत्रमा पनि उज्यालो आवश्यक भएको बताए । कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणाले कुर्सीको लागि नभई राष्ट्र बनाउनको लागि सम्झौता गर्नुपर्ने बताइन् । सांसदहरू देश बनाउनको लागि क्रियाशील रहनुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा क्याप्टेन विजय लामाले कुनै पनि पद वा वर्दिक नक्कली हुन नसक्ने बताए । तर पद र बर्दी ओगट्ने व्यक्तिहरू नक्कली हुँदा देश र जनताले नै दुःख पाउने उनको भनाइ छ । कार्यक्रममा नवनिर्वाचित युवा सांसदहरूलाई ग्लोबल युथ पार्लिमेन्टका अध्यक्ष दिवाकर अर्याल, सांसद छनोट प्रक्रियाका निर्णायक बुद्विसागर मरासिनी र सञ्चारकर्मी राजन कुँईकेलले प्रमाणपत्र तथा ब्याच वितरण गरे । कार्यक्रमको दोस्रो सत्रमा पूर्वराजदूत महेशराज दाहाल र अधिवक्ता रामहरि नेपालले नवनिर्वाचित युवा सांसदहरूलाई कानुन निर्माण प्रक्रिया र संसदीय अभ्यासबारे प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा नागरिक समूहका अध्यक्ष निगम हुमागाई, नेपाल चीन मामलाका जानकार दिनेश खनाल, समाजसेवी विष्णुहरी दाहाल, युवा अभियन्ता विजय कँडेललगायतको उपस्थिति थियो । युवा सांसद छनोटका लागि देशभरका १६५ निर्वाचन क्षेत्रका लागि अनलाइनमार्फत खुला आवेदन आह्वान गरिएको थियो । प्राप्त ७ हजारभन्दा बढी आवेदनमध्यबाट उनीहरूको अध्ययन, समाजप्रतिको योगदान तथा कामको अनुभवको आधारमा चयन समितिले प्रत्येक निर्वाचन क्षेत्रका लागि अन्तिम तीन उम्मेदवार चयन गरेको थियो ।

तीमध्ये एकजना असार १५ गते भएको अनलाइन भोटिङबाट निर्वाचित भएका हुन् । सांसद छनोट समितिमा पूर्वराजदूत महेशराज दाहाल, रक्षा नेपालकी अध्यक्ष मेनुका थापा, पत्रकार बुद्धिसागर मरासिनी, अधिवक्ता रमण कर्ण, समाजसेवी बिन्दु परियार थापा, अर्थविद् नवराज अर्याल र ग्लोबल युथ पार्लियामेन्टका उपाध्यक्ष कैलाश श्रेष्ठ रहेका थिए ।