समाचार

रवि लामिछानेको समर्थन गर्दै नर्वेमा हस्ताक्षर अभियान सुरु


राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछानेविरुद्ध राजनीतिक प्रतिशोध साँधिएको भन्दै यसको विरोधमा ओस्लो, नर्वेमा हस्ताक्षर संकलन अभियान सुरु गरिएको छ । प्रवासमा रहेका नेपालीहरूलाई देशभित्र भइरहेको राजनीतिक अन्यायको विरुद्धमा सचेत र सक्रिय बनाउने उदेश्यका साथ उक्त अभियानको आयोजना गरेको आयोजक प्रवासी नेपाली सम्पर्क विभाग –नर्वे (हाल गठन प्रक्रियामा रहेको इकाई) ले जनाएको हो ।

हस्ताक्षर अभियानको औपचारिक उद्घाटन ओस्लो निवासी अग्रज टिका आचार्यले गरेका हुन् । कार्यक्रममा बोल्दै उनले भने, “यो अभियान कुनै दलको पक्षपात होइन, तर लोकतन्त्र र न्यायको रक्षा गर्न प्रवासी नेपालीहरूको स्वतन्त्र आवाज हो। हामी जहाँ भए पनि अन्यायविरुद्ध बोल्नुपर्छ।”

कार्यक्रमको संयोजनमा रहेका सरोज थापा र शंकर काफ्लेका अनुसार, यो अभियान आगामी २ हप्ता ओस्लो र वरपरका क्षेत्रमा सञ्चालन गरिनेछ । संयोजक थापाले राज्य नै प्रयोग गरेर गरिएको प्रतिशोधकोविरुद्ध बोलेर इतिहास अगाडि सार्नुपर्ने बताए ।

कार्यक्रममा समाजसेवी, युवा तथा महिलाहरूको उल्लेखनीय सहभागिता रहेको जनाईएको छ । हस्ताक्षर कार्यक्रममा सबै प्रवासी नेपालीहरूलाई पार्टीभन्दा माथि उठेर अन्यायविरुद्ध सहभागी हुन अपिल गरिएको छ ।