काठमाडौं । सरकार सञ्चालनमा पार्टीको भूमिका र सङ्गठनको चुस्ततालाई लिएर केन्द्रीय नेतृत्वप्रति आक्रामक देखिएका कांग्रेस केन्द्रीय सदस्यहरूले तत्काल १५औँ महाधिवेशनको मिति तोक्न दबाब दिइरहेका छन् ।
सोमबारदेखि केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा नेताहरूले २०८३ मंसिरअगावै महाधिवेशन गर्ने गरी मिति तय गरेर कार्यतालिका बनाउन केन्द्रीय नेतृत्वमाथि दबाब बढाएका हुन् । गत महाधिवेशनमा सभापतिमा पराजित भएपछि पहिलो पटक सभापति शेरबहादुर देउवासँग वर्तमान सरकार, गठबन्धनसहित पार्टीभित्रका समस्यामा समेत केन्द्रीय समिति बैठकमा नै जवाफ मागेका संस्थापनइतरका नेता डा. शेखर कोइरालाले यही बैठकबाट महाधिवेशनको मिति तोक्नुपर्नेमा जोड दिएका छन् । उनी २०८२ मंसिरमै महाधिवेशन गर्नुपर्ने पक्षमा छन् । नेता कोइरालाले आगामी मंसिरभित्र महाधिवेशन गर्ने विषयमा नेतृत्वले आलटाल गरे पदाधिकारीले त्यसको कारण र औचित्य पुष्टि गर्नुपर्ने बताएका छन् ।
यस्तै, केन्द्रीय सदस्य डा. डिला संग्रौला, मीन विश्वकर्मा लगायतका नेताहरूले भने विधानले दिएको सुविधा अनुसार एक वर्ष कार्यकाल थपिए पनि २०८३ मंसिरभित्र महाधिवेशन गर्ने गरी केन्द्रीय समिति बैठकले साझा धारणा बनाउनुपर्ने बताएका छन् । संग्रौलाले यही बैठकले स्पष्ट कार्यतालिकासहित महाधिवेशनको मिति तोक्नुपर्नेमा जोड दिएकी छन् । एकातिर क्रियाशील सदस्यताको टुंगो नलागेकाले व्यावहारिक पक्ष हेरेर मिति तोक्नुपर्ने राय आइरहेको छ भने, अर्कोतिर संस्थापनइतर समूहले यही बैठकबाट महाधिवेशनको ‘डेडलाइन’ तोक्न माग गरिरहेको छ ।केन्द्रीय समिति बैठकमा यही वर्षको मंसिरभित्र नभएर २०८३ मंसिरभित्र पार्टीको १५औँ महाधिवेशन हुनुपर्ने आवाज उठे पनि, नेताहरूको मागबमोजिम समयसीमाभित्र महाधिवेशन हुनेमा भने आशंका कायमै छ । केन्द्रीय महाधिवेशनमा सहभागी हुने भ्रातृ एवं शुभेच्छुक सङ्गठनहरू भद्रगोल अवस्थामा छन् ।
भ्रातृ संस्थाहरूले अधिवेशनको माग गर्दै विरोधमा उत्रिँदा समेत त्यसको सुनुवाइ कांग्रेस नेतृत्वले गर्न सकेको छैन । विघटन गरेर तदर्थ समिति गठन गरी अधिवेशन गराउने कि अहिलेकै अवस्थामा भ्रातृ सङ्गठनहरूको महाधिवेशन गराउने भन्ने विवाद टुङ्ग्याउन सकेको छैन ।
(बाकि सामाग्री भिडियोसहित)
प्रतिक्रिया