समाचार

सुर्खेतमा रोपाइँ गरिरहेका बेला चट्याङ लागेर एक जनाको मृत्यु, ४ घाइते


काठमाडौं—चट्याङ लागेर सुर्खेतमा एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो खेतमा धान रोपाइँ गरिरहेको बेला चट्याङ पर्दा भेरीगंगा नगरपालिका–८, कुइरेका २७ वर्षीय डिल बहादुर शाहीको मृत्यु भएको हो ।

‎आज दिउँसो करिब ३ बजे स्थानीय वीर बहादुर थापाको खेतमा रोपाइँ गरिरहेका बेला एक्कासि चट्याङ परेको थियो । चट्याङ लागेर थप चार जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक मोहनजंग बुढ्थापाले जानकारी दिए ।

उनका अनुसार चट्याङ लागेर गम्भीर घाइते भएका शाहीको मेहलकुना अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । ‎‎चट्याङ लागेर घाइते हुनेहरूमा सोही ठाउँका १७ वर्षीय पर्वत विक, १९ वर्षीय हुम बहादुर थापा, १८ वर्षीय नवीन विक र ३० बर्सिया सुनिता गिरी रहेका छन् । घाइतेहरूको अवस्था सामान्य रहेको र मेहलकुना अस्पतालमा उपचार भइरहेको सुर्खेत प्रहरीले जनाएको छ ।