Breaking

रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्न कलाकारहरुको लर्को


काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेप्रति एैक्यवद्धता प्रदर्शन गर्न सञ्चालन गरिएको हस्ताक्षर अभियानमा कलाकर्मीहरूले पनि बलियो साथ दिएका छन् । आज एकसाथ एक दर्जनभन्दा बढी कलाकारहरूले रविको पक्षमा हस्ताक्षर गरे ।

आज हस्ताक्षर गर्नेहरूमा अभिनेता कृष्ण मल्ल, खगेन्द्र लामिछाने, संगीतकार तथा गायक खेम सेञ्चुरी, हास्यकलाकारहरू राजाराम पौडेल, किरण केसी, रामचन्द्र अधिकारी, निर्देशक अशोक शर्मा र दीपेन्द्र के खनाल, सिनेपत्रकार प्रकाश सुवेदीलगायत छन् ।

यसअघि अभिनेता विपीन कार्की र अभिनेता रमेश उप्रेतीले रास्वपाको केन्द्रीय कार्यालयमै पुगेर हस्ताक्षर गरेका थिए । आज भने नागपोखरीस्थित एउटा रेस्टुरेन्टमा हस्ताक्षर कार्यक्रम राखिएको थियो । पार्टी स्रोतका अनुसार आज कलाकारहरूलाई जुटाउने कार्यमा रविकी पत्नी निकिता आफैँ सक्रिय थिइन् । उनी चलचित्र विकास बोर्डकी पूर्वअध्यक्ष समेत हुन् ।

हस्ताक्षरपछि बोल्दै कलाकारहरूले रवि लामिछानेको मुद्दामा अदालतबाट निष्पक्ष न्याय सम्पादन होस् भन्ने आफूहरूले चाहेको बताए ।