समाचार

सरकारी कर्मचारीहरूमा समर्पित भएर काम गर्ने प्रवृत्ति छैन : पर्यटनमन्त्री पाण्डे


संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारी कर्मचारीहरूले समर्पित भएर काम नगर्ने बताएका छन् । सरकारी काम र गैरसकारी काममा फरक रहेको उनले बताए ।

शुक्रबार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । कम भन्दा कम म्यानपावरलाई निजी क्षेत्रले सदुपयोग गर्ने गरेको र यो सुशासनकै पाटो रहेको मन्त्री पाण्डेले बताए । तर सरकारी कर्मचारीहरुमा समर्पित भएर काम गर्ने भावनामा कमी रहेको उनको आरोप थियो ।

सांसदहरुले निजी एयरलाइन्सहरूले कम जनशक्तिमै नाफामा एयरलाइन्स सञ्चालन गर्ने तर नेपाल एयरलाइन्सले धेरै जनशक्ति राख्दा पनि किन सुधार र नाफामा लैजान नसकेको भन्दै प्रश्न गरेका थिए । यस्को जवाफमा मन्त्री पाण्डेले सरकारी कर्मचारीहरुमा समर्पित भएर काम गर्ने भावनामा कमी भएकाले धेरै जनशक्ति आवश्यक परेको बताएका हुन् ।

मन्त्री पाण्डेले कर्मचारीको सेवा, शर्तसम्बन्धी नेपाल एयरलाइन्सको विनियमावली बनिरहेको जानकारी दिए। आवश्यकता भन्दा बढी जनशक्ति राखेर नेपाल एयरलाइन्सलाई थप आर्थिक भार गर्नुहुँदैन भन्नेमा सरकारले गृहकार्य गरिरहेको पाण्डेले बताए ।