देश

कांग्रेस बैठक : ओलीमाथि खनिए नेता, सत्ता यात्रा गर्न देउवालाई दबाब, सात बुँदे अलपत्र पारेको आरोप (भिडियो)


काठमाडौं – नौ महिनाको अन्तरालपछि सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी छ । गत सोमवारदेखि जारी बैठकमा कांग्रेसभित्रको आन्तरिक मनमुटाव र असन्तुष्टि छताछुल्ल भएको छ । पार्टीभित्रको गुटबन्दी, भ्रातृ संस्थाहरूको अधिवेशनको अभाव, पार्टी र जनप्रतिनिधिको समन्वयको समस्यालाई जोड दिँदै नेतृत्वको ध्यानाकर्षण गराएका छन् । सरकारको गति र पार्टी सङ्गठनको अवस्थाप्रति नेतृत्वको चर्को आलोचना गर्दै नेताहरुले गम्भीर असन्तुष्टि पोखेका छन् । सरकारको समीक्षा सहित विभिन्न १३ वटा एजेन्डामा छलफल गरिरहेको कांग्रेस बैठकमा बहसको केन्द्रमा भने प्रधानमन्त्री केपी शर्मा ओली छन् । ठूलो दल हुँदाहुँदै नेतृत्वको लाचारीपनका कारण कांग्रेस एमालेको आज्ञापालक भएको भन्दै नेताहरू असन्तुष्ट छन् ।