काठमाडौं—सैनिक विशेष अदालतले सहायक रथी रोशन खड्का र मेजर बोधराज कार्कीलाई सेवाबाट बर्खास्त गर्ने फैसला सुनाएको छ ।
अदालतले सैनिक कल्याणकारी कोषमा भ्रष्टाचार गरेको ठहर गर्दै सहायक रथी खड्का र मेजर कार्कीलाई भविष्यमा सरकार सेवामा अयोग्य नठहरिने गरी बर्खास्त गर्ने फैसला गरेको सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिए ।
सैनिक कल्याणकारी कोषको सवा २ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा सहायक रथी खड्का र मेजर कार्कीलाई सैनिक प्रहरीको हिरासतमा राखेर मुद्दा अगाडि बढाइएको थियो। अदालतले २ करोड २१ लाख ८५ हजार ५१५ रुपैयाँ ४८ पैसा हिनामिना भएको ठहर गरेको छ । सैनिक अदालतले सेनाको जमदारबाट अवकाश भइसकेका आत्मराम थापा र सेनानीबाट अवकाश भएका लक्ष्मण अधिकारीलाई पनि दोषी ठहर गरेको छ । थापा पुर्पक्षका लागि थुनामा छन् । अधिकारी अमेरिकामा छन्।
सैनिक कल्याणकारी निर्देशनालयअन्तर्गत आवास तथा बिमा शाखाबाट आवास तथा बिमा बापतको रकम वास्तविक रूपमा भुक्तानी गर्नुपर्ने व्यक्तिलाई नभई काल्पनिक नाम खडा गरेर रकम निकासा गर्ने र हिनामिना गर्ने कार्यमा उनीहरूको संलग्नता पुष्टि भएको हो।
प्रतिक्रिया