राजनीति

कांग्रेसमा रवि भेरियण्ट देखिए : अजयबाबु सिवाकोटी


काठमाडौं—नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले कांग्रेससँग नयाँ र पुराना दुवै मतदाता बिच्किएको बताएका छन् । केन्द्रीय कमिटीको बैठकमा धारणा राख्दै सिवाकोटीले यस्तो बताएका हुन् ।

यस क्रममा सिवाकोटीले पाका मतदाता कसरी कांग्रेससँग भाँडिएका छन् भन्ने प्रसंग पनि सुनाएका छन् । ‘पार्टी केन्द्रीय समितिको बैठकमा यस्ता विषयमा कतिको चर्चा भयो होला भन्ने सोच्दै आज बिहान बालाजु पार्कमा हिँडिरहेको थिएँ । पार्कमा नियमित भेट हुने सभापतिज्यूकै उमेर हाराहारीका एकजना दाजुले भन्दै हुनुहुन्थ्यो– कांग्रेसले अब हामीलाई मत हाल्न जानु नपर्ने गरी सजिलो बनाइरहेको छ ।’

सिवाकोटीले देउवालाई सुनाएका थिए, ‘सभापतिज्यू ती दाजुका कुराले म गम्भीर भएँ, त्यो केवल तीतो टिप्पणी थिएन । यो हाम्रो परम्परागत मतदाता वर्गको चेतावनी थियो । यस्ता चेतावनीको भाषा तपाईंहरूले कति सुनिरहनुभएको छ ?’

अवसर र जिम्मेवारी पाउँदा आम नागरिकको भरोसा जित्नुपर्ने ठाउँमा बेलगाम भएर मैमत्त हिँड्ने पार्टीमै भएपछि आम मानिसले कांग्रेसको आरती नगर्ने उनको भनाइ थियो । संघ र प्रदेशको बजेटपछि देशभर आफ्नै पार्टीका नेता कार्यकर्ताको प्रतिक्रिया र टिप्पणी कांग्रेसलाई लाज लाग्ने खालको भएको उनको भनाइ छ । कांग्रेसका नेतामाथि भ्रष्टाचारको आरोप लाग्दा र डामिँदा कार्यकर्ता र मतदाताको शिर निहुरिएको समेत उनले बताए ।