शिक्षा

पेचिलो बन्दै शिक्षा विधेयक, देउवा रिझाउन रघुजी हैरान, सुमना र विद्याको आक्रोश, शिक्षकले नै निहुँ खोजे (भिडियो)


काठमाडौं – गत बैशाखमा सरकारले असार १५ गतेभित्र विद्यालय शिक्षा विधेयक ल्याउने आश्वासन दिएपछि २९ दिन लामो आन्दोलन स्थगित गरेर शिक्षकहरू आ–आफ्नो काममा फर्किएका थिए । शिक्षकहरूको आन्दोलन र सडक दबाबका कारण वर्षौंदेखि बेवास्तामा पर्दै आएको विद्यालय शिक्षा विधेयक अघि बढाउने सवालमा विगतको तुलनामा यो पटक सरकारको सक्रियता प्रशंसायोग्य नै छ । संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले अधिकांश विषयमा सहमति जुटाएर विधेयक प्रतिनिधिसभामा पठाउन तयार छ । समितिले सोमबार नै विधेयकलाई पारित गरेर प्रतिनिधिसभामा पठाउने योजना बनाएको थियो । पहिले समन्वय परामर्श उपसमितिबाट पारित गर्ने सहमतिअनुसार बिहान ८ बजेका लागि समितिको बैठक बोलाइएको थियो । विधेयक पारित गर्न समिति सदस्यहरू बिहानै सिंहदरबार पुगेका थिए । पूर्व शिक्षामन्त्रीसमेत रहेकी रास्वपा सांसद सुमना श्रेष्ठ विधेयक पारित हुने खुसीमा योमरी नै बोकेर बैठकमा पुगेकी थिइन् । तर, विधेयक पारित गर्ने अन्तिम घडीमा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले अहिलेको अवस्थामा विधेयक पारित भए कांग्रेसलाई स्वीकार्य नहुने बताए ।