Breaking

राज्य व्यवस्था समितिको आकस्मिक बैठकमा सभापति खतिवडा र सचिव दुराको राजीनामा माग


काठमाडौँ । राज्य व्यवस्था समितिको बैठकमै समितिका सभापति रामहरि खतिवडाको राजीनामा मागिएको छ ।

बुधबार बसेको आकस्मिक बैठकमा नेकपा एमालेका सांसद पदम गिरीले सभापति खतिवडाको राजीनामा मागेका हुन् ।

गिरीले समितिले पास गरेभन्दा फरक ढंगले प्रतिवेदन पठाइएको भन्दै समिति सभापति खतिवडा र सचिव सुरजकुमार दुराको राजीनामा मागेका हुन् ।

सभापति र सचिवको हस्ताक्षर भएकाले जस्ताको त्यस्तै पठाउने दायित्व समितिको भएपनि सभापतिबाट गैरजिम्मेवारपूर्ण जवाफ आएको भन्दै उनीहरू पदमा बसिरहनु लज्जास्पद र घिनलाग्दो काम भएको गिरीले बताए ।

उनले भने ‘समितिले महिनौ लगाएर छलफल गरेर कुलिङ पिरियड २ वर्षसम्म कायम रहने एक मतले पारित गरेको विषयमा सबैबीचमा स्पष्ट छ, तर सभापति ज्यू र सचिवले हस्क्षातर भएको प्रतिवेदन फरक ढंगले प्रस्तुत गरियो । नेपालको इतिहासमा यो लल्लास्पद र घिनलाग्दो अवस्था हो, यो हदसम्मको जनप्रतिनिधिले काम गर्छन् भन्ने कल्पना गर्न नसकिने अवस्था हो, ‘नैतिकताको हिसाबले मार्गप्रशस्त गरिदिनुपर्छ । सचिवले पनि यो पदमा बसिरहन मिल्दैन । नेपालको संसदीय इतिहासमा कालो धब्बा हो । कसैले जिम्मेवारी नलिने हो भने सधैँभरी यस्तो अवस्था आइरहन्छ । राजीनामा दिएर मार्गप्रश गर्न अनुरोध छ ।’