समाचार

कुलिङ पिरियडमा गडबडी गर्नेले राजीनामा दिनुपर्ने एमालेको माग


काठमाडौं – नेकपा एमालेका सांसद पदम गिरीले संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा गरिएको हेरफेरलाई गम्भिर षडयन्त्रका रुपमा टिप्पणी गरेका छन् । मंगलबार सिंहदरबारमा पत्रकारहरुसँग छलफल गर्दै गिरीले सो कुरा बताएका हुन् ।

उनले संसदीय समितिको प्रतिवेदनमा प्रतिनिधि सभाबाट पास हुँदाको भन्दा फरक कुरा आएको भन्दै यसलाई गम्भीर षडयन्त्रको संज्ञा दिए । गिरीले यस्तो कार्यमा संलग्नले नैतिकताको आधारमा राजिनामा दिनुपर्ने र कारबाही भोग्नुपर्ने बताएका छन् । उनले यो समिति माथिको उपहास र सार्वभौम संसद, सार्वभौम संसदको समितिको गरिमामा आँच आउने कार्य भएको टिप्पणी गरे ।

“यस्तो कार्य कहाँबाट भएको छ, जोबाट भएको छ, त्यो निर्मम कारबाहीको विषय बन्नुपर्छ । यसले सिंगो संसदको गरिमालाई चाहिँ बदनाम बनाउने काम भएको छ । यस्ता कुरा स्वीकार्य हुँदैनन् ।” गिरीले भने ।

यसमा छानबिन भई कारबाही नभएसम्म राज्य व्यवस्था समितिको बैठक नबस्ने अडान आफुहरुको रहेको समेत उनले बताए ।