देश

देउवाको ‘रिटायर्ड’ हुने चाहना, उत्तराधिकारी बन्ने हौसिए, शेखर–गगनलाई महाधिवेशनकै हतारो (भिडियो)


काठमाडौं – कांग्रेसको महाधिवेशन समयमै नगर्ने चलखेल हुन थालेको भन्दै इतर पक्षले पेलिरहेका वेला सभापति शेरबहादुर देउवाले शुक्रबार आरोपमाथि नै प्रश्न उठाईदिए । कांग्रेस चितवनले आयोजना गरेको एक कार्यक्रममा उनले समयमै महाधिवेशन हुने प्रष्ट पारे । तर त्यो विधानको सुविधालाई प्रयोग गर्दै १ वर्ष सारेपछिको हो या नियमित हुनुपर्ने ४ बर्षभित्रकै हो भन्ने प्रष्ट नपारेपनि उनले इतरपक्षले उठाएको प्रश्नमाथि नै प्रहार गरेका छन् । त्यतिमात्र हैन पार्टी भित्रको गुटगत लडाइँप्रति चिन्ता व्यक्त गरेका उनले नेपाली कांग्रेस बलियो बनाउने बाहेक अन्य सोच आफूमा नरहेको समेत प्रष्ट पारे । अझ रोचक त आफू रिटायर्ड हुन लागेको भन्दै फेरी नेतृत्वको दावी नहुने संकेत गरेका उनले पार्टि एकजुट भए बहुमत ल्याउन सक्ने समेत स्मरण गराए ।