समाचार

प्रतिलिटिर पाँच रुपैयाँले बढ्यो पेट्रोलको भाउ


काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा एकैपटक उच्च मूल्यवृद्धि गराएको छ । निगमले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै मूल्यवृद्धि गरिएकोबारे जानकारी दिएको हो ।

मंगलबारबाट लागू हुने गरी पेट्रोलमा ५ रुपैयाँ र डिजेल तथा मट्टितेलमा ४ रुपैयाँ मूल्य बढाइएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नयाँ मूल्यसूचीअनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटिर १६२ रुपैयाँ ५० पैसा कायम गरिएको छ। निगमले यी क्षेत्रलाई पहिलो वर्गमा राख्ने गरेको छ। यी क्षेत्रमा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४६ रुपैयाँ ५० पैसा कायम गरिएको छ।

दोस्रो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर १६४ रुपैयाँ कायम गरिएको छ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य १४८ रुपैयाँ कायम गरिएको छ।

काठमाडौं, पोखरा र दियालमा पेट्रोलको मूल्य प्रतिलिटर १६५ रुपैयाँ र डिजेल, मट्टितेलको मूल्य १४९ रुपैयाँ कायम गरिएको छ। निगमले यी तीन स्थानलाई तेस्रो वर्गमा राखेको छ।

त्यस्तै आन्तरिक हवाई इन्धनमा ७ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलोलिटर ६० डलर मूल्य बढेको छ ।