मौसम

पश्चिम नेपालका जिल्लाहरुमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह


मनसुन सक्रिय भएकाले पश्चिम नेपालका जिल्लाहरुमा भारीदेखि अतिभारी वर्षाको चेतावनी जारी गरिएको छ । जल तथा मौसम विज्ञान विभागले लुम्बिनी, कर्णाली र सुदूपश्चिम प्रदेशका १२ जिल्लामा भारीदेखि अतिभारी वर्षाको सम्भावना रहेकाले असार १६ गतेसम्म सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागका अनुसार लुम्बिनीका बाँके, बर्दिया र दाङ, कर्णालीका सुर्खेत, दैलेख र सल्यान, सुदूरपश्चिमका बैतडी, डडेलधुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर जिल्लामा भारीदेखि अतिभारी वर्षाको सम्भावना छ । अन्य प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि भारीदेखि अतिभारी वर्षाको चेतावनी जारी गरिएको छ ।

विभागले दिएको सूचनाको आधारमा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षाका कारण बाढी, पहिरो र डुबानको जोखिम हुने भएकाले उच्च सतर्कता अपनाउन र पूर्वतयारी तथा पूर्वकार्य गर्न आग्रह गरेको छ ।

यसैबीच, महाकाली नदीमा पानीको बहाव बढेपछि शारदा ब्यारेजमा चारपांग्रे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ ।