उच्च अदालतको आदेशपछि रुपन्देही कारागारमा रहेका रास्वपा सभापति रवि लामिछानेको मुद्दामा अर्को टुवीस्ट आएको छ । लामिछानेविरुद्ध उजुरी दिनेहरु नै उनको पक्षमा देखिँदा मुद्दामै नयाँ मोड आएको छ ।
देशको चौथो ठूलो दल रास्वपा सभापति रवि लामिछाने ३५ दिन देखि ४० डिग्रि गर्मी झेल्दै रुपन्देही कारागारको ब्लक नम्बर चारमा बसिरहेका छन् । बुटवलको सुप्रिम सहकारी रकम अपचलनमा हिरासत बाहिरै राख्ने जिल्ला अदालतको निर्णय उच्चले उल्ट्याएपछि उनी चैत्र २२ गते पुर्वपक्षका लागि कारागार चलान भएका थिए । तर, रवि कारागार चलान भएसँगै उनको मुद्दामा भने एकपछि अर्को नयाँ मोडहरु आइरहेका छन् । पछिल्लो समय रवि विरुद्ध वचतकर्ताहरुले दिएको जाहेरी नै नक्कली भएको तथ्य बाहिरिएको छ ।
जसले उनीविरुद्ध रुपन्देहीमा चलिरहेको मुद्दामा गम्भीर प्रश्न उब्जिएको छ । पूरक जाहेरी दिएको भनिएका ७ जनामध्येका नारायण पहराईले आफूले रवि विरुद्ध व्यक्ति केन्द्रित जाहेरी नदिएको बताएका छन् । उनले आफ्नो सामाजिक सन्जाल फेसबुकमा लामो स्टाटस लेख्दै प्रहरीले आफ्नो नामा दुरुपयोग गरेको आरोप लगाएका छन् । आफूले बचत फिर्ताका लागि निवेदन दिएको तर रवि विरुद्ध कुनै उजुरी नगरेको उनको भनाइ छ ।
अर्का जाहेरीकर्ता गीता आचार्यले पनि बचत फिर्ताका लागि हालेको उजुरीलाई प्रहरीले अनुमतिविना रविविरुद्ध प्रयोग गरेको आरोप लगाएकी छिन् । रुपन्देहीमा पहराईसहित बुद्धबहादुर गुरुङ, पूजा न्यौपाने पाण्डे, मदन भुसाल, हुमलाल गैरे, बेलकुमारी घर्ती र मनरूपा पौडेलको नाम प्रहरीले थप जाहेरीकर्ताका रूपमा सार्वजनिक गरेको थियो । एकपछि अर्को उजुरीकर्ताले यस्तो आरोप लगाउँदा रुपन्देहीमा प्रहरीले गरेको सहकारी ठगीको अनुसन्धानमै गम्भीर प्रश्न खडा भएको छ । रविलाई फसाउने नियतले नक्कली उजुरीकर्ता खडा गरेर मुद्दा हालिएको रास्वपा नेता–कार्यकर्ताले आरोप लगाउन थालेका छन् ।
भैरहवा कारागारमा रहेका लामिछानेले जति सक्दो चाँडो आफ्नो मुद्दाको सुनुवाई होस् भन्ने विलौना गरिरहेका छन् । रविका पक्षबाट पत्नी निकिता पौडेलले सर्वोच्च अदालतमा वन्दी प्रत्येक्षकिरण मुद्दा हेलेकी छिन् ।
राज्यले कुनै व्यक्तिलाई गैरकानुनी रूपमा थुनेको राखेको अवस्थामा दायर गरिने संवेदनशील मुद्दा हो । तर, सुरुमा प्रधानमन्त्रीको कार्यालयलाई विपक्षी बनाउनुपर्नेमा सचिवालयलाई बनाईएपछि रवि पक्षकै कारण ढिलाई भयो । त्यसयता दुुईपटक सर्वोच्चले रविको मुद्दा हेर्न नमिल्नेमा परेको छ ।
आइतबार न्यायाधीशद्वय सुनीलकुमार पोखरेल र बालकृष्ण ढकालको इजलासमा पेशी तोकिए पनि सुनुवाइ हुन सकेन । अकोए पेशी मंगलबार तोकिएको छ । यस्तो संवेदनशील मुद्दामा २२ दिनसम्म समेत सुनुवाइ हुन नसक्नुलाई समर्थकहरुले नियतवश भनेका छन् भने कानुन व्यवसायीले पनि मुद्दामा भइरहेको ढिलाईले थुुनुवाको स्वतन्त्रतामा हस्तक्षेप हुने भएकाले छिटो टुंग्याउनुपर्ने बताइरहेका छन् ।
रास्वपाका नेताहरुले समेत बन्दीप्रत्यक्षीकरणको मुद्दा संवेदनशील भएकाले शिघ्र सुनुवाई हुनुपर्ने माग गरिरहेका छन् ।
कारागारमै रहेका रवि लामिछानेलाई सोमवार मिटरब्याज पीडित किसान–मजदुरहरुले भेटेका छन् । भेटमा टोलीले किसानका समस्यामा सरकार अनुदार बनेको गुनासो सुनाएका थिए । गृहमन्त्रीका रुपमा लामिछानेले गरेका सम्झौता नयाँ सरकार बनेपछि कार्यान्वयन नगरिएको उनीहरुको दुःखेसो थियो । अन्याय भयो भनेर जाँदा पनि गृह मन्त्रालयको ढोका बन्द जस्तै भएको बताएका थिए । जवाफमा रवि लामिछानेले नआत्तिन र एक भएर अघि बढ्न आग्रह गरेका छन् । पिडितहरुबीच राजनीति हुन नहुने भन्दै लामिछानेले न्यायको लडाइँ एकदिन अवस्य जितिने बताएका थिए । रवि आफँै सहकारी प्रकरणमा मुछिए पनि उनी प्रतिको नागरिक विश्वास भने कमी आएको देखिँदैन ।
प्रतिक्रिया