समाचार

२५ सय वर्ष बित्दा पनि विश्व्यापीकरण भएन बुद्धको सन्देश


बुद्धजयन्ती । अर्थात, भगवान गौतम बुद्धको २५६९औँ जनम जयन्ती विभिन्न कार्यक्रम गरी मनाईएको छ । बुद्धको जन्म, ज्ञान प्राप्ति र मुत्यु वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यो दिन महत्वपूर्ण छ । नेपाललगायत विश्वभरका बौद्धमार्गीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिका साथ बुद्धजयन्ती मनाउँदै आएका छन् ।

प्रत्येक वर्षझैं यसवर्ष पनि वैशाख शुक्ल पूर्णिमाका दिन शान्तिका अग्रदुत भगवान गौतमबुद्धको जन्मजयन्ती मनाइएको छ । ईसापूर्व ५६३ अर्थात आजभन्दा २५६९ वर्षअघि रुपन्देही जिल्लास्थित लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो । बुद्धजयन्तीको अवसरमा सोमवार बुद्धभूमि लुम्बिनी सहित काठमाडौं उपत्यकाका बौद्ध, स्वयम्भूनाथ क्षेत्र लगायत देशभरका चैत्य, गुम्बा, विहारलगायतका धार्मिक स्थलहरुमा दर्शनाथीहरुको घुँइचो लागेको थियो ।

२५६९औँ बुद्ध जयन्तीको अवसरमा वुद्धको जन्मस्थल लुम्बिनीमा विशेष समारोह सहित लुम्बिनी दिवस मनाइएको छ । २५६९औँ बुद्धजयन्ती एवं लुम्बिनी दिवस २०८२ मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री के.पी शर्मा ओलीले विश्वमा अशान्ति बढिरहेका वेला बुद्धदर्शन र शिक्षाको उपादेयता बढेको बताएका छन् । अहिले विश्वमा बढ्दै गएको द्वन्द्व र हिंसालाई हतियारले होइन, बुद्धदर्शनले मात्रै रोक्न सक्ने बताएका हुन ।

तर, प्रधानमन्त्री ओलीले बोलिरहेकै समय पाँच हजार क्षमताको हलका अधिकांश कुुर्सी खाली देखिएका थिए । सहभागीहरु पनि धैर्यतापूर्वक बस्न नसक्दा मूल समाहरोह केही खल्लो भएको थियो । यसले दबाबमा परेका प्रधानमन्त्री ओली पनि मन्तव्य छोट्याउन बाध्य बनेका थिए ।

विश्व जगतमा शान्तिका अग्रदूत र एशियाका ताराका रुपमा भगवान् गौतम बुद्धलाई चिनिन्छ । नेपाललगायत बौद्ध धर्माबलम्बी रहेको देशहरुले बुद्ध जयन्तीका दिन सार्वजनिक विदा दिने गरेका छन् । बुद्धले पहिलो पटक सारनाथमा प्रवचनका माध्यमबाट प्राप्त ज्ञान बाँड्न सुरु गरेका थिए ।

गौतमबुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वभरका बौद्ध धर्मावलम्बीहरुले भागवान बुद्धप्रति भावपूर्ण श्रद्धाका पर्व मनाउने गर्दछन् । आजको दिन भगवान बुद्धले दिएका शान्ति, अहिंसा, मैत्री र करुणाको सन्देशलाई विशेष स्मरण गरिन्छ । बुद्धजयन्तीका अवसरमा सरकारले देशभर सार्वजनिक बिदा दिँदै आएको छ ।