भारत र पाकिस्तानबीच तेस्रो दिन पनि निरन्तर गोलाबारी जारी छ । ‘अपरेसन सिन्दुर’ पछि यी दुई देशबीच तनाव झनै बढ्दै गएको छ । दुवै देशले एकअर्कामाथि निरन्तर कारबाही गरिरहेका छन् ।
भारत र पाकिस्तानबीच तेस्रो दिन पनि सीमावर्ती क्षेत्रमा गोलाबारी चलिरहेको छ । कश्मीरको पहलगाममा दुई साताअघि भएको आतंकवादी हमलाले अन्ततः भारत र पाकिस्तानलाई युद्धमै डो¥याएको छ । भारतले बिहीबार राति पाकिस्तानले आक्रमण गरेको तर त्यसलाई विफल पारिएको दाबी गरेको छ । तर पाकिस्तानका रक्षामन्त्रीले त्यसलाई खण्डन गरेका छन् । भारतीय रक्षा मन्त्रालयका अनुसार, ‘पाकिस्तानले जम्मु, पठानकोट र उधमपुरमा रहेका सैन्य स्टेशनमा ड्रोन र मिसाइल आक्रमण गरेको छ । यी आक्रमणलाई विफल पारिएको छ । कुनै पनि जनधनको क्षति नभएको जनाइएको छ । भारतले आफ्नो सार्वभौमसत्ता र आफ्ना नागरिकहरूको रक्षा गर्न प्रतिबद्ध रहेको जनाएको छ ।
भारतका अनुसार पाकिस्तानले हानेका सबै क्षेप्यास्त्र वायु रक्षा प्रणालीद्वारा सफलतापूर्वक रोकिएको र निष्क्रिय पारिएको छ । यसैबीच पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले भने जम्मु कश्मीरमा भएको कुनै पनि आक्रमणको जिम्मेवारी लिन अस्वीकार गरेका छन् । ख्वाजा आसिफले भनेका छन्, ‘हामी यसलाई अस्वीकार गर्छौं, हामीले अहिलेसम्म केही गरेका छैनौँ । जब पाकिस्तानले आक्रमण गर्छ, तब सबैलाई थाहा हुनेछ ।’ जम्मु कश्मीरमा विस्फोट र ब्ल्याकआउटको रिपोर्ट आएको केही समयपछि ख्वाजा आसिफले बीबीसी हिन्दीसँग कुरा गरेका थिए । ख्वाजा असिफले भारतका ७७ वटा ड्रोन खसालेको दाबी गरेका छन् ।
लाहोर, रावलपिण्डी र कराची लगायतका क्षेत्रबाट पाकिस्तानी सेनाले ड्रोन र मिसाइल झारेको उनले बताएका छन् । ड्रोन मात्रै हैन पाकिस्तानले भारतको रफायल लडाकु विमान पनि खसालेको बताएका छन् । पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारले रफायलसँगै भारतको अभिमान पनि ध्वस्त भएको टिप्पणी गरेका छन् । ‘यो रफाइलमात्रै होइन, भारतको अभिमान पनि खसेको छ ।’ उनले पाकिस्तानी संसदमा भने । रफायल लडाकु विमान गुमाएपछि भारतले ‘कायरतापूर्वक’ चालकरहित हवाइ उपकरण ड्रोनको प्रयोग गरेर पाकिस्तानमाथि आक्रमण गरेको उनको भनाइ छ । उनले कश्मीरको लाइन अफ कन्ट्रोलमा भएको झडपका क्रममा ५० जना भारतीय सैनिक मारिएको पनि दाबी गरे ।
उनले पछिल्ला विकसित घटनाक्रमसँगै पाकिस्तानी सेनालाई पूर्ण अख्तियारी दिएको उल्लेख गर्दै उपयुक्त समय र स्थानमा भारतलाई कठोर जवाफ दिइने बताएका छन् । यसअघि पाकिस्तानले भारतीय वायुसेनाको तीन वटा रफायलसहित ५ लडाकु विमान खसालेको दाबी गरेको थियो । भारतले पाकिस्तानी दाबीबारे मुख खोलेको छैन । यसैबीच भारत–पाकिस्तान द्वन्द्व चर्किँदा १८औं सिजनको आईपीएल अनिश्चितकालका लागि स्थगित गरिएको छ । भारतीय क्रिकेट बोर्डले पछिल्लो अवस्थालाई मध्यनजर गर्दै आईपीएल स्थगित गर्ने निर्णय गरेको हो । बिहीबार धर्मशालामा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल पनि सुरक्षाका कारण देखाउँदै स्थगित गरिएको थियो ।
यसअघि, ‘अपरेसन सिन्दूर’ घोषणा गरेको भारतले बुधबार बिहान पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका ९ स्थानमा मिसाइल हमला गरेको थियो । जसमा आतंकवादी शिविरलाई निसाना बनाइएको दाबी भारतको थियो । उता पाकिस्तानले भने महिला बालबालिकासहित कम्तीमा ३१ जना मारिएको जनाएको थियो । यसको जवाफमा पाकिस्तानले पनि बिहीबार उत्तरपश्चिमी भारतका १५ सहरलाई लक्षित गरी मिसाइल र ड्रोन आक्रमण गरेको थियो । तर ती क्षेत्रमा पाकिस्तानले गरेको हमलालाई निष्क्रिय पारेको भारतले दाबी गरेको छ । यस्तै, भारतले बुधवार पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरमा गरेको प्रहारपश्चात् अन्तर्राष्ट्रिय समुदायले तनाव मत्थर पार्न आह्वान गरिरहेका छन् । यी आक्रमणका घटना र सीमा पार गोलाबारी तीव्र भइरहँदा परमाणु शक्ति सम्पन्न दुई छिमेकी विस्तारित युद्धमा होमिने त्रास बढेको छ । भारत र पाकिस्तानबीच विगत दुई दशकयताकै यो सबैभन्दा खराब टकराव भएको बताइएको छ । सन् २०१६ र २०१९ मा दुवै पक्षबीच सीमापार आक्रमण भएका थिए । तथापि, ती आक्रमणले ठुलो युद्ध भने निम्त्याएनन् । दुवै पक्षसँग आणविक हतियार भएकाले पूर्णस्तरको युद्ध हुन सक्ने खतरा पैदा भएको छ । यदि त्यसो भएको खण्डमा भने यो खतरनाक हुने निश्चित छ ।
प्रतिक्रिया