Breaking

मोदीका ‘मोस्ट वान्टेड’को सूची,जसको ज्यान र अड्डा ध्वस्त पार्न युद्ध छेड


कश्मिरको पहलगाम घटनापछि अहिले भारत ‘अपरेसन सिन्दूर’ मार्फत पाकिस्तानलाई उत्तर दिइरहेको छ । आक्रमणमा लश्कर र जैशको मुख्यालय नष्ट गरिएको दाबी गरिँदामसुद अजहर त्यसको निसानामा थिए । यद्यपि अजहर बाच्न सफल हुँदा उनीबाहेक को को छन् त भारतको निसानामा ?

पहलगाम आतङ्कवादी हमलाको जवाफ भारतले अपरेसन सिन्दूरमार्फत दिएको छ । पाकिस्तानका नौ स्थानमा भारतीय सेनाले गरेको क्षेप्यास्त्र आक्रमणमा आतङ्कवादी अखडाहरूलाई निसाना बनाएको थियो । ती स्थान लश्कर–ए–तैयबा, जैश–ए–मोहम्मद र हिज्बुल मुजाहिद्दीनका आतङ्कवादीहरूका अखडा भएको भारतको दावी छ । जहाँ उनीहरूका प्रशिक्षण शिविर र मुख्यालय थिए। यही हमलामा भारतको मोस्ट वान्टेड आतङ्कवादी मसुद अजहरका भाइ रउफ अजहर मारिएका थिए । उनी जैश–ए–मोहम्मद का सबैभन्दा खतरनाक आतङ्कवादीहरूमध्ये एक हुन भने पाकिस्तानका बासिन्दा उनी वहालपुरमा बस्दै आएका थिए । सन् १९९९ मा काठमाडौंबाट उडेको इन्डियन एयरलाइन्सको विमान अपहरण उनीहरुकै योजनामा भएको थियो । भारतीय संसद हमला, पठानकोट र पुलवामामा भएको हमलाको योजना पनि रउफ अजहरले नै बनाएका थिए। यसबाहेक सन् २०१४ देखि २०१९ बीच भएका अन्य हमलामा पनि उनी संलग्न थिए। यसबाहेक भारतको निसानामा रहेका अन्य आतंकवादी को को हुन् त ?


(मसुद अजहर)
भारत–पाकिस्तानलाई युद्धको सङ्घारतर्फ धकेलिरहेका कट्टरपन्थी मसुद अजहर राष्ट्रसंघद्वारा आतंकवादी घोषित व्यक्ति हुन् ।जैस ए मोहम्मद नामक आतंकवादी संगठनका मुखिया उनलेविश्वभरका मुसलमानहरूलाई जिहाद (पवित्र युद्ध) का नाममा मार्न तथा अन्य आतङ्ककारी कार्यका लागि तयार गर्दै आएका छन् ।सन् १९६८ मा बहालपुरमा जन्मिएका
अजहरले सन् १९८९ मा अफगानिस्तानमा जिहादीहरूसँगै लडाइँमा समय बिताएका थिए।

अफगानिस्तानबाट फर्केपछि उनले कराची, हैदराबाद, सुक्कुर, खुप्रु र नवावशाहसहितका स्थानहरूमा निरन्तर हिंसाको आह्वानलाई जारी राखे। उनले इस्लामवादी जिहाद, इतिहास तथा जिहादी तालिम तथा व्यवस्थापनबारे ३० वटाभन्दा धेरै पुस्तक लेखेको बीबीसीले उल्लेख गरेको छ । सन् १९९४ मा भारत–प्रशासित कश्मीरबाट पक्राउ परेका उनलाई
सन् १९९९ डिसेम्बर २४मा काठमाडांैबाट अपहरण भएको जहाज छुटाउन भारतले छोडेको थियो । आफ्नो रिहाइपछि सन् १९९९ मा उनले कराचीमा जैश–ए–मोहम्मद (मोहम्मदको सेना) स्थापनाको घोषणा गरेका थिए । भारतमा पक्राउ पर्नुअघि मसुद अजहर हर्कत–अल–मुजाहिद्दिनको हिस्सा थिए। पछि उनको सङ्गठनले हर्कत–अल–मुजाहिद्दिनका केही शिविर र कार्यालयसमेत कब्जा गरेको थियो । भारतमा भएका अधिंकाश आतंकवादी हमलाका जिम्मेवार उनी लामो समयदेखि भारतको मुख्य निसानामा छन् ।

(साजिद मीर)
लश्कर–ए–तैयबाका एक प्रमुख सदस्य साजिद मीरलाई सन् २००८ को मुम्बई आतङ्कवादी हमलाको मुख्य योजनाकार मानिन्छ। उनी एफबीआईको मोस्ट वान्टेड आतङ्कवादीहरूको सूचीमा समावेश छन् । मीरको गिरफ्तारीका लागि अमेरिकाले ५ मिलियन डलर पुरस्कार घोषणा गरेको छ । भारत र अमेरिकाले मीरलाई विश्वव्यापी आतङ्कवादी घोषणा गर्न संयुक्त राष्ट्रमा प्रस्ताव पेस गरेका थिए । तर चीनले यस प्रस्तावमा प्राविधिक रोक लगाएकाले उनी विश्वव्यापी आतङ्कवादीको सूचीमा समावेश हुन सकेनन् । उनलाई साजिद मजीद चौधरी, अंकल बिलको नामले समेत चिनिन्छ ।
(जकी–उर–रहमान लखवी)

लश्कर–ए–तैयबाका प्रमुख कमाण्डरमध्ये एक लखवी मुम्बई आतङ्कवादी हमलाका मुख्य योजनाकार हुन्। भारत र संयुक्त राष्ट्रद्वारा आतङ्कवादी घोषित लखवीलाई पाकिस्तानमा आतङ्कवादको वित्तपोषणको आरोपमा पक्राउ गरिएको छ। यद्यपि यो उनलाई अमेरिका र भारतबाट बचाउने पाकिस्तानको नीति भएको आक्षेप लाग्दै आएको छ । लखवीले हाफिज सईदसँग मिलेर मुम्बई हमलाको योजना बनाएका थिए । उनी भारतमा भएको सन् २००० को लाल किल्ला हमला, सन् २००८ को रामपुर हमला र सन् २०१५ को उधमपुर हमलामा समेत संलग्न थिए। लखवीलाई २००८ मा संयुक्त राष्ट्र सुरक्षा परिषदले विश्वव्यापी आतङ्कवादी घोषणा गरेको थियो ।
(हाफिज सईद)

हाफिज सईद, लश्कर–ए–तैयबा र जमात–उद–दावाका संस्थापक हुन्। मुम्बई आतङ्कवादी हमलाका मुख्य योजनाकार उनीविरुद्ध भारत र अन्तर्राष्ट्रिय समुदायले आतङ्कवाद, आतङ्कवादको वित्तपोषण र मनी लाउन्ड्रिङलगायत धेरै आरोप लगाइएको छ । उनलाई पाकिस्तानको आतङ्कवाद विरोधी अदालतले आतङ्कवादको वित्तपोषणका दुई मुद्दामा दोषी ठहर गर्दै ३१ वर्षको सजाय सुनाएको छ। तर हाफिज अझै पनि पाकिस्तानमा खुलेआम घुमिरहेका छन् भने पाकिस्तान आर्मीले भारतको हमलाको डरले हाफिजलाई लाहोरमा नागरिक क्षेत्रमा लुकाएर राखेको बताइन्छ । यही कारण उनीमाथिको सजाय केवल देखावटी भएको हो । उनको सुरक्षामा पाकिस्तान सेनाको स्पेसल सर्भिस ग्रुपको पूर्व कमाण्डो २४ घण्टा तैनाथ रहेको भारतीय मिडियाको दाबी छ । सन् २००८ मा संयुक्त राष्ट्र सुरक्षा परिषदद्वारा विश्वव्यापी आतङ्कवादी घोषणा गरिएका उनीविरुद्ध अमेरिकाले १ करोड अमेरिकी डलरको पुरस्कारको व्यवस्था गरेको छ ।


(रियाज भटकल)

भटकल भारतीय आतङ्कवादी सङ्गठन इंडियन मुजाहिद्दीनका सह–संस्थापक र प्रमुख कमाण्डर हुन् । भारतीय नागरिक भटकलहाल पाकिस्तानको कराचीमा आईएसआईको सुरक्षामा बसिरहेका छन् । उनीसँग पाकिस्तानी राहदानी छ । भटकल शुरुमा स्टुटेन्ड ईस्लामिक मुभमेन्ट अफ इन्डियासँग जोडिएका थिए। रियाज र उनका भाइ इकबाल भटकलले इंडियन मुजाहिदीनको स्थापना गरे र यसको सञ्चालनमा महत्वपूर्ण भूमिका निभाए। सन् २००६ मुम्बई ट्रेन बम विस्फोटमा रियाज भटकलले विस्फोटक पदार्थको व्यवस्था गरेका थिए। २००७मा भएको हैदराबाद बम विस्फोटमा पनि उनको हात थियो। त्यस्तै लुम्बिनी पार्क र गोकुल चाट भण्डारमा भएका हमलाका लागि समेत रियाज भटकललाई जिम्मेवार ठहराइएको छ। सन् २०१३ हैदराबाद विस्फोटमा फेरि एकपटक उनको नाम आएको थियो।सूरतमा परमाणु हमलाको योजना पनि रियाजले नै बनाएका थिए। रियाज भटकल र यासीन भटकलले सूरतमा परमाणु हमला गर्ने योजना बनाएका थिए, तर यो षड्यन्त्र समयमै विफल भयो। रियाज भटकलविरुद्ध राष्ट्रिय अनुसन्धान अभिकरण र इन्टरपोलद्वारा रेड कर्नर नोटिस जारी गरिएको छ।


(दाउद इब्राहिम)

दाउद इब्राहिम भारतीय माफिया, ड्रग तस्कर र आतङ्कवादी हुन् । मुम्बईस्थित आफ्नो ग्याङ डी–कम्पनीका लागि कुख्यात दाउद पढाइ पूरा नगरी नै अपराधको दुनियाँमा प्रवेश गरेका थिए । मुम्बईमा रक्तपातपूर्ण खेल खेलेपछि उनी आतङ्कवादतर्फ अघि बढे। सन् १९९३ मार्च१२ मा मुम्बईमा भएका बम विस्फोटहरूको योजना दाउद इब्राहिमले नै बनाएका थिए। जसमा २५७ जना मारिए र १ हजार ४०० भन्दा बढी घाइते भए। यी विस्फोटहरूमा आरडीएक्सले भरिएका१३ वटा कार बम प्रयोग गरिएको थियो । उनलाई सन् २००३ मा भारत र अमेरिकाले विश्वव्यापी आतङ्कवादी घोषणा गरेका थिए । पाकिस्तानको कराचीमा बसिरहेको दावी गरिने दाउदको टाउकोको मूल्य २५ मिलियन अमेरिकी डलर राखिएको छ ।