Breaking

जनताले अनुभव गर्ने प्रकारको विकास खोजेका छन् : सुहाङ नेम्वाङ


काठमाडौं—नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले जनताले अनुभव गर्ने प्रकारको विकास खोजेको बताएका छन् । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा उनले योजनाको चर्चामात्रै नभइ उपलब्धिको अनुभूति जनताले चाहेको बताएका हुन् ।

नेम्वाङले सांसदको रुपमा प्रतिनिधिसभामा शपथ लिएको आज एक वर्ष पुगेको छ । सांसदको शपथ लिएको एक वर्षमा नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिन पाउनुलाई ‘संयोग’ को रुपमा लिँदै नेम्वाङले इलामका जनतालाई स्मरण गरेका छन् । जनतामा साधरणजस्तो देखिन विभिन्न आकांक्षाहरू पनि अधुरै रहेको भन्दै त्यसतर्फ काम गर्नुपर्ने उनको भनाइ थियो ।

आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको लक्ष्यसहित नीति तथा कार्यक्रम आएको बताउँदै उनले ती मार्गनिर्देशक सिद्धान्तहरू कार्यान्वयनमा ल्याउने प्रयास भएको बताए । सरकारले युवाको सशक्तिकरण, सीप विकास, उद्यमशीलता, रोजगारी सिर्जना र नेतृत्वमा लगानी गर्ने प्रतिबद्धता देखाएको उनले बताए । ‘खेलकुद प्रवद्र्धनमार्फत मानसिक र शारीरिक विकासमा समेत योगदान पु¥याउने उद्देश्य प्रशंसनीय छ,’ नेम्वाङले भने ।

योजनाहरूको निरन्तरता—उत्तरदायित्वको प्रतिबद्धता यस नीति तथा कार्यक्रमले अंगिकार गरेको उनले बताए । केवल खर्च गर्ने दस्तावेज मात्रै नभएको सन्देश अहिलेको नीति तथा कार्यक्रमले दिएको उनले बताए । दीर्घकालीन दृष्टिकोण र जनताको साथ आफूहरूले गुमाउन नहुने उनको भनाइ थियो । ‘असफलताबाट पाठ लिँदै, विश्वासका साथ अघि बढ्नु जरुरी छ,’ नेम्वाङले भने ।

युवा, शिक्षा, स्वास्थ्य, कृषि र पर्यटन क्षेत्रमा लगानीसँगै, स्थानीय नवप्रवर्तन र निजी साझेदारीलाई प्रभावकारी ढंगले अघि बढाउन उनले सुझाव दिए । जनताले विकासको महसुस गर्नसक्नेगरी काम गर्नु आफूहरूको साझा उत्तरदायित्व रहेको उनले बताए ।