समाचार

नेपालबाट अवैध रूपमा भारत प्रवेश गर्न खोजिरहेका चारजना चिनियाँ नागरिक पक्राउ


काठमाडौं—पाकिस्तानमा मंगलबार राति भारतले आक्रमण गरेपछि नेपाल–भारत सीमाक्षेत्रमा सुरक्षा कडा बनाइएको छ । सुरक्षा निगरानीका क्रममा नेपालको वीरगञ्जसँगैको रक्सौल मैत्री पुलनजिक चारजना चिनियाँ पक्राउ परेका छन् ।

नेपालबाट रक्सौल सीमाको बाटो हुँदै अवैध रूपमा भारत प्रवेश गर्न खोजिरहेका चारजना चिनियाँ नागरिकलाई सीमा सुरक्षा बल (एसएसबी) ले रक्सौल मैत्री पुलबाट पक्राउ गरेको हो ।

पक्राउ परेका चारैजना चिनियाँ नागरिकले बारम्बार आफ्नो बयान परिवर्तन गरिरहेका एसएसबीले जनाएको छ । नीहरू हिन्दी, नेपाली, अंग्रेजी र चिनियाँ भाषामा बोल्न जान्ने रहेको भारतीय सुरक्षा निकायले जनाएको छ।

भारतीय सुरक्षा निकायले ती चिनियाँहरूको सम्बन्ध पाकिस्तानसँग रहेको आरोप लगाएका छन् । उनीहरू पाकिस्तानमा रहेका एक व्यक्तिसँग कुराकानी गरिरहेको अवस्थामा भेटिएका दाबी एसएसबीको छ। ती चिनियाँ नागरिक पछिल्लो एक सातादेखि काठमाडौंमा थिए। उनीहरू किन भारतमा अवैध रूपमा प्रवेश गर्न खोजेका थिए भन्ने खुलेको छैन ।