भारतले युद्ध छेडेसँगै अब पाकिस्तान बदलाको तयारीमा छ । यो युद्ध दुई देशको प्रतिष्ठादेखि शक्तिको होडबाजी हुँदै भूराजनीतिक कारणले पनि झनै चर्किने र लम्बिने चरणमा पुगेको छ ।।
भारत–पाकिस्तान पाचौँ चोटी युद्धमा होमिएका छन् । भारतले गएराति पाकिस्तानी भूमिमा हवाई तथा मिसाइल आक्रमणका साथै गोलाबारी गरेपछि युद्ध चर्किने देखिएको छ । भारतले गरेको हवाई र मिसाइल आक्रमणपछि पाकिस्तानले आफ्ना सबै सुरक्षा निकायलाई युद्ध छेड्ने अख्तियारी सुम्पिएको छ ।
प्रतिष्ठाका लागि पनि पाकिस्तान भारतविरुद्ध शसक्त बदला लिने तयारीमा छ । सम्भवतः पाकिस्तानले अबको केही घण्टामा भारतविरुद्ध जवाफी आक्रमण गर्न सक्नेछ । भारत फेरि चुप लागेर बस्ने कुरै भएन । त्यसो त युरोपका तीन देशको भ्रमण स्थगित गर्दै प्रधानमन्त्री नरेन्द्र मोदी गएरातिदेखि नै युद्धको मनोटेरिङमा खटिएका छन् । यसकारण पनि भारत तत्काल पछि हट्ने अवस्थामा छैन । आर्थिक हिसाबले समृद्ध बन्दै गएको भारत अब प्रतिष्ठाका लागि भए पनि युद्धमा लगानी गर्ने योजनाबाट अघि बढेको छ ।।
त्यसो त राजनीतिक रुपमा मुद्दाबिहीन जस्तै बनेका प्रधानमन्त्री मोदी यो युद्धलाई चर्काउन चाहन्छन् । किनकी यस वर्षको अन्त्यतिर भारतको विहारमा विधानसभा निर्वाचन हुँदैछ । उक्त निर्वाचन अघि नै मोदी आफ्नो बलियो छाप छोड्न चाहन्छ्न । जहाँ युद्ध छेडेसँगै यतिबेला मोदीको लोकप्रियता पनि बढेको छ । भारतीय जनताले पनि पाकिस्तानविरुद्ध लड्ने आँट गर्ने नेतालाई सर्व शक्तिमान मान्ने गरेका छन् । यता पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफले त राजनीतिक स्वार्थका लागि मोदी आफूहरुविरुद्ध लडेको आक्षेप लगाइरहँदा साच्चिकै मोदीले राजनीतिक मुद्दाकै लागि युद्ध चर्काएका त होइनन् भन्ने आशंकालाई थप बल पुगेको छ । भारत र पाकिस्तानका नागरिकले मात्रै होइन कलाकारदेखि खेलाडीसम्मले यो लडाईंलाई प्रतिष्ठाको विषय बनाएका छन् । यसैले दुवै देशका नेतृत्व हौसिँदा युद्ध तत्काल मत्थर हुने अवस्था देखिँदैन ।
युद्ध सुरु भएसँगै दुवै देश अब सैन्य शक्तिदेखि हतियारसम्मको होडबाजीमा पुग्ने देखिएका छन् । तर आर्थिक हिसाबले संकटमा रहेको पाकिस्तानका लागि युद्ध चर्काउन त्यति सहज छैन । फलतः बाह्य शक्तिको सहयोगबाटै पाकिस्तान भारतविरुद्ध आफूलाई सशक्त बनाउन चाहन्छ । विश्वका शक्तिशाली राष्ट्र अमेरिका, चीन, रुस र इरानलगायतका देशहरु पाकिस्तानको पक्षमा अप्रत्यक्ष रुपमा सहभागी भइसकेका छन् । शक्तिशाली चीनले खुलस्तै रुपमा पाकिस्तानलाई समर्थन गरिरहेको छ । पाकिस्तानलाई चीनको हतियारदेखि आर्थिक रुपमा ठूलो सहयोग रहँदै आएको छ । यसअघिका युद्धमा अमेरिकाको सदैव साथ पाकिस्तानलाई रहँदै आएको थियो भने यसपटक पनि उसले अमेरिकाको साथ पाउने अपेक्षा गरेकै छ । यद्दपि, अमेरिका बाहिरी रुपमा अहिलेसम्म कसैको पक्षमा खुलेको छैन । राष्ट्रपतिमा जिते २४ घण्टामै विश्वका युद्धहरु रोक्ने उद्घोष गरेका डोनाल्ड ट्रम्पले भारत पाकिस्तानबीच युद्ध चर्किएपछि आज मात्रै चिन्ता व्यक्त गरे । त्यसो त भारतीय प्रधानमन्त्री मोदीसँग ट्रम्पको सम्बन्ध सुमधुरै रहेको बताइन्छ । यद्यपि, यो युद्धमा ट्रम्प अब कसरी प्रस्तुत हुन्छन् त्यसले मोदीसँगको सम्बन्ध थप उजागर गर्नेछ ।
आणविक हतियारमा शक्तिशाली रहेको इरानका विदेशमन्त्री अब्बास अरागजीले पाकिस्तानको भ्रमण गरेका छन् । जहाँ उनले युद्ध साम्य पार्न मध्यस्थता गरिरहेको बताइए पनि भारतले युद्ध नै छेड्दा अप्रत्यक्ष रुपमा पाकिस्तानलाई सहयोग गरिरहेका त छैनन् भन्ने शंका पनि उठेको छ । यद्यपि उनी बिहीबार भारत भ्रमणमा समेत जाँदैछन् । त्यसो त, धार्मिक हिसाब र सीमाका कारण पाकिस्तानसँग सम्बन्ध बलियो भएको इरान उसलाई चिढाउने पक्षमा पनि छैन ।
भूराजनीतिका कारण पनि भारत–पाकिस्तानबीचको युद्ध झनै लम्बिने अवस्था देखिन्छ । दक्षिण एसियाली क्षेत्रको अर्थतन्त्र खुम्च्याउन पश्चिमा राष्ट्रहरु भारत पाकिस्तानबीचको युद्ध उचाल्न चाहन्छन् । जहाँ युद्धले भारत थलिए प्रधानमन्त्री मोदीमाथि दबदबा बढाउन चीन–अमेरिकालाई सहज मात्रै हुने छैन कि अमेरिकाले जसरी खनिज सम्झौता गर्दै आफ्नो हतियारको व्यापार युक्रेनमा गरेको छ त्यसरी नै यी देशहरुमाथिको युद्धमा पनि अमेरिकाले व्यापारिक नजरले नहेर्ला भन्न सकिन्न । हुन त युद्धले भारत पाकिस्तान कसैलाई फाइदा पुग्दैन । शक्तिशाली राष्ट्र रुस जसरी युद्धका कारण अहिले थलिएको छ, भारत र पाकिस्तानको अवस्था पनि भोलिका दिनमा त्यस्तै नआउँला भन्न सकिन्न ।
प्रतिक्रिया