पहलगाममा पर्यटकहरूमाथि भएको आक्रमणको दुई हप्तापछि भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका धेरै ठाउँमा आक्रमण गरेको छ । भारतले पाकिस्तानको नियन्त्रित क्षेत्र कश्मीरमा ९ वटा आतंकवादी क्षेत्रलाई निशाना बनाउँदै गरेको आक्रमणपछि दुई देशबीच तनाव चुलिएको छ ।
बुधबार बिहान पौने २ बजेतिर भारतले पाकिस्तानको नियन्त्रित क्षेत्र कश्मीरका ९ वटा आतंकवादी क्षेत्रलाई निशाना बनाउँदै गरेको आक्रमणपछि दुई देशबीच तनाव चुलिएको छ । भारतले अपरेसन ‘सिन्दूर’अन्तर्गत हवाई आक्रमण गरेको हो । भारतको दाबीअनुसार यिनै स्थान हुन्, जहाँबाट भारतमा आतंकवादी हमलाहरूको योजना बनाइएको थियो र कार्यान्वयन गरिएको थियो । भारतले पाकिस्तानविरुद्धको सैन्य कारबाहीका लागि ‘अपरेसन सिन्दूर’ नाम रोज्नुको पछाडि धार्मिक प्रतिकात्मक कारण रहेको बताएको छ । ‘अपरेसन सिन्दूर’मा सिन्दूर शब्दले हिन्दु महिलाले विवाहपछि निधारमा लगाउने रातो रंगको पाउडरलाई जनाउँछ । कश्मीरको पहलगाममा आतंककारी हमलामा धेरै महिलालाई विधवा बनाइएको थियो । यस हमलापछि आफ्नो मृत पतिको शवको छेउमा बसेकी एक महिलाको तस्बिर भाइरल भएको थियो । उक्त तस्बिर आक्रोश र पीडाको प्रतीक बनेको थियो । भारतीय रक्षामन्त्री र विदेशमन्त्री दुवैले सामाजिक सञ्जाल एक्समा रातो सिन्दूरको चित्रसहित यस अभियानको नामको सांकेतिक भाव पोस्ट गरेका छन् । यो आक्रमणमा भारतीय सञ्चारमाध्यमले १०० भन्दा बढी आतंककारी मारिएको दाबी गरेका छन् ।
यता अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले कम्तिमा २६ जना मारिएको र ४६ जना घाइते भएको जनाएका छन् । तर पाकिस्तानले भने दुई बालबालिकासहित ७ जनाको मात्रै ज्यान गएको दाबी गरेको छ । अहिलेसम्म कति मानवीय क्षति भयो भन्ने आधिकारिक रुपमा कतै पुष्टि भइसकेको छैन । यस्तै भारतले २४ वटा मिसाइल प्रहार गरेको पाकिस्तानको इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर) का अधिकारीले बताएका छन् । पाकिस्तानमाथि भारतीय सेनाले अपरेसन सिन्दुर चलाइरहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पूरै रात निगरानी र निर्देशनमा खटिएको विशेष सूत्रलाई उल्लेख गर्दै एएनआईले जनाएको छ । सन् १९७१ मा पाकिस्तानमा गरिएको आक्रमणपछि पहिलोपटक भारतका तीनै तहका सुरक्षा निकायले संयुक्त रुपमा काम गरिरहेका छन् । जसमा भारतीय सेना, नेभी र एअरफोर्स रहेका छन् । यता पाकिस्तानी सेनाले पाँचवटा भारतीय सैन्य जेट विमान खसालेको दाबी गरेको छ । भारतीय सेनालाई उदृत गर्दै प्रकाशित समाचार अनुसार एउटा फाइटर जेट भारत अधिनस्थ कश्मीरको पुलवामास्थित पाम्पोरमा खसेको छ । दोस्रो फाइटर जेट कश्मीरकै अखनूर र तेस्रो रामबनमा खसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । अर्को फाइटर जेट पञ्जाबमा खसेको छ ।
उक्त फाइटर जेट पञ्जाबको बठिन्डामा खसेको हो । यी फाइटर जेट पाकिस्तानले खसाएको या दुर्घटनामा परेको भन्ने खुलेको छैन । यसैबीच भारतले गरेको सैन्य कारबाहीलाई पाकिस्तानको राष्ट्रिय सुरक्षा समितिले ‘युद्ध’को संज्ञा दिएको छ । पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफको अध्यक्षतामा बसेको बैठकले भारतीय आक्रमणको जवाफ दिने अधिकार आफूसँग भएको निष्कर्ष निकाल्दै त्यसको जिम्मा सेनालाई दिने निर्णय गरेका छन् । पाकिस्तानको सशस्त्र बललाई यस सम्बन्धमा आवश्यक कारबाहीको अधिकार विधिवत् रुपमा दिइएको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा भारतको भत्र्सना गर्दै पाकिस्तानी सेनाको प्रशंसा गरिएको छ । भारतको आक्रमणपछि पाकिस्तानको राजधानी इस्लामाबादमा सबै सरकारी तथा निजी स्कुल र कलेज बन्द गरिएको छ । यद्दपि पाकिस्तान सरकारले सबै निर्धारित परीक्षा तय भएकै समयमा हुने बताएको छ । यस्तै पाकिस्तानी सेनाले अन्तर्राष्ट्रिय सीमामा लगातार फायरिङ गरिरहेको छ ।
जम्मू–कश्मीरको केही क्षेत्रमा पाकिस्तानी सेनाको आक्रमणमा परी ६ जना भारतीय नागरिकको मृत्यु भएको छ । २४ जना घाइते भएका छन् । यता पञ्जाबको सीमामा भारतीय सेना हाई अलर्टमा रहेको छ । चीनले पनि पाकिस्तानमा भारतले गरेको सैन्य कारबाहीप्रति खेद व्यक्त गरेको छ । चीनले शान्ति र संयमका लागि आह्वान पनि गरेको छ । चीनले भारतको सैन्य कारबाही र दुई देशबीचको वर्तमान विकासक्रमबाट चिन्तित भएको जनाएको छ । भारत र पकिस्तानबीच सधैँ सत्रुता रहँदै आएको छ । भारतको यो आक्रमणको कदमलाई पाकिस्तानले ठुलो गल्ति गरेको भनेको छ ।
पाकिस्तानले भारतीय हवाई आक्रमणको जवाफ दिने वाचा गरेको छ । यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रीहरूलाई अपरेशन सिन्दूरको बारेमा जानकारी दिँदै सेनाको प्रशंसा गरेका छन् । मोदीले यो देशका लागि गर्वको क्षण भएको सुनाएका छन् । सीमावर्ती क्षेत्रमा भीषण गोली हानाहान भइरहेको र दुवै देशका सुरक्षाकर्मीहरू पूर्ण तयारी अवस्थामा रहेको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले जनाएका छन् । यसैबीच, अन्तर्राष्ट्रिय समुदायले भारत र पाकिस्तान दुवैलाई संयमता अपनाउन आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघ, अमेरिका, चीन र युरोपेली संघले परिस्थितिलाई थप बिग्रन नदिन कूटनीतिक पहल अघि बढाएको छ ।
प्रतिक्रिया