Breaking

India-Pak War : अप्ठ्यारोमा नेपाल,नाकाबन्दी हुने डर


भारत र पाकिस्तान युद्धमा होमिएपछि त्यसले नेपालमा पार्ने प्रभावबारे चासो बढेको छ । जुन विषयले संसदमै प्रवेश पाउँदायसको प्रभाव अर्थतन्त्रदेखि भूराजनीतिसम्म पर्ने सम्भावना छ । यही कारण विश्व ध्रुवीकरणमा गए अझ ठूलो दुर्भाग्य र अनिष्ट हुने पक्का छ ।फलतः यो युद्धले दक्षिण एसियामै खतराको कालो बादल मडारिदा नेपालमा पर्ने प्रभाव कस्तो रहँला त ?

भारत पाकिस्तान युद्धमा उत्रिएसँगै यसले नेपालमा पार्ने प्रभावबारे चर्चा शुरु भएको छ । यी दुवै देश सार्कराष्ट्र हुन् भने उनीहरुले खेलेको यो ठूलो जुवाले दक्षिण एसियामै त्रासको वातावरण बनेको छ । जहाँ भारत छिमेकी देश हो भने पाकिस्तानसँग पनि नेपालको राम्रो सम्बन्ध रहँदै आएको छ । त्यसमा पनि असलंग्न परराष्ट्र नीति भएको नेपाल दुवैका लागि बराबरको मित्र हो । फलतः यो युद्ध नेपालका लागि समेत टाउको दुखाई र खतरा बन्ने पक्का छ । जसले नेपाली अर्थ,राजनीतिक र राष्ट्रिय सुरक्षा लगायतका क्षेत्रमा प्रभाव पर्ने उत्तिकै सम्भावना छ । यही कारण बुधबार नेपालमा राष्ट्रिय सुरक्षा समितिको बैठक समेत बसेको छ । बैठकले भारत पाकिस्तानबीच बढेको तनावले नेपालमा पर्न सक्ने असरको विश्लेषण गरेको साथै आवश्यक सुरक्षा रणनीति बनाएर कार्यान्वयन गर्ने निर्णय गरेको छ । तीनै तहका सुरक्षा निकायलाई सीमामा निगरानी बढाउन निर्देशन दिने समिति बैठकले निर्णय गरेको छ । सीमामा थप सुरक्षा व्यवस्थाको प्रबन्ध गर्न आवश्यक सर्कुलरसमेत भइसकेको जनाइएको छ ।

बैठकमा गृहमन्त्री रमेश लेखक, तीनवटै सुरक्षा निकायका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र गृह मन्त्रालयको सुरक्षा महाशाखाका प्रतिनिधिलगायत सहभागी थिए । यस्तै अन्तर्राष्ट्रिय विमानस्थलमा पनि कडाइका साथ जाँच गर्ने विषयमा समितिमा छलफल हुँदा यो युद्धको प्रभावको विषय संसदमै पनि उठेको छ ।

भारत पाकिस्तान युद्धको प्रभाव नेपाल कस्तो पर्ला त ?


आर्थिक प्रभाव
नेपाल आयातमा निर्भर देश हो भने यसका लागि भारतसँगै निर्भर रहँदै आएको छ । भारत–पाकिस्तान तनावले व्यापारिक आपूर्तिमा अवरोध सिर्जना गर्न सक्छ ।भारतीय बन्दरगाह र सिमानामा सुरक्षा कडाइ हुँदा, नेपालले कच्चा पदार्थ, इन्धन र अत्यावश्यक सामग्रीको आपूर्तिमा कठिनाइ भोग्न सक्छ । तनाव बढ्दा सुरक्षा दृष्टिले नेपालसँगकै सीमा नाकासमेत बन्द हुन सक्छ । यसबाहेक भारतीय रूपैयाँको अवमूल्यनले नेपाली रूपैयाँमा पनि प्रत्यक्ष प्रभाव पार्ने छ । त्यस्तै दक्षिण एसियाली क्षेत्र अस्थिर हुँदा अन्तर्राष्ट्रिय पर्यटकहरू र लगानीकर्ताहरू नेपालमा लगानी गर्न निरुत्साहित हुन सक्छन्। यसअघि पनि भारत–पाकिस्तानबीचको विगतका द्वन्द्वले दक्षिण एसियाली अर्थतन्त्रमा दीर्घकालीन नकारात्मक प्रभाव पार्दै आएको छ ।

भूराजनीतिक प्रभाव
भारत र पाकिस्तानबीच युद्ध सुरु हुँदा भूराजनीतिक संवेदनशीलता र खुला सिमानाको कारण नेपाल जोखिममा रहेको छ । यो अवस्थामा नेपालले दुवै पक्षसँग सन्तुलित सम्बन्ध राख्नुपर्ने चुनौतीछ । जहाँ भारतले भने आफ्नो पक्षमा पार्न कसरत शुरु गरिसकेको छ । सत्तारुढ भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख विजय चौथाइवालेको नेपाल भ्रमणलाई समेत यसैसँग जोडेर हेरिएको छ । यता भारतसँगको सीमा विवाद र पाकिस्तानसँगको सीमित सम्बन्धले नेपाल चेपुवामा पर्न सक्ने खतरा छ । यसै सन्दर्भमा पाकिस्तानको उच्चस्तरीय सैन्य टोली नेपालमा भ्रमणमा आएको विषयमा संसदमा प्रश्न नै उठेको छ । सांसदहरुले पाकिस्तानी सैन्य टोली बोलाइएको विषयमा आपत्ति जनाएका छन् र सरकारलाई गम्भीर हुन भनेका छन् ।

सुरक्षा चिन्ता
नेपालको खुला सिमाना आफ्ना लागि घातक हुने कुरा बेलाबेला भारतीपक्षले बताउँदै आएको छ । जसका कारण नक्कली भारु कारोबारदेखि आतंकवादी गतिविधिसम्मका विषयमा भारतले नेपाललाई सचेत गराउँदै आएको छ । जहाँ क्षेत्रीय अस्थिरताले नेपालमा आतङ्कवादी समूहहरूको गतिविधि बढ्ने जोखिम हुन सक्छ। यसले सीमा सुरक्षा र आन्तरिक सुरक्षामा चुनौती उत्पन्न गर्न सक्छ ।यता कश्मिरमा भएको घटनाले पनि क्षेत्रीय आतंकवादको प्रभाव कसरी नेपालजस्तो तेस्रो मुलुकमा पर्छ भन्ने देखाएको छ ।

प्रवासी नेपालीको सुरक्षा
मध्यपूर्वमा कार्यरत नेपाली आप्रवासी कामदारहरूले पनि यस द्वन्द्वको अप्रत्यक्ष प्रभाव भोग्न सक्ने विज्ञहरु बताउँछन् । त्यस्तै पाकिस्तान र भारतमा काम गर्ने नेपाली कामदारहरूको सुरक्षा चिन्ता बढ्न सक्छ । जहाँ कश्मिरकै सन्दर्भमा समेत नेपालसँग यसको सम्बन्ध २ सय वर्ष अघिदेखिको छ । अहिलेसम्म पनि वार्षिक रूपमा विभिन्न उद्देश्यका लागि ठूलो सङ्ख्यामा नेपालीहरू त्यहाँ जाने गरेका छन् । त्यस्तै भारतीय सैनिकमा समेत ठूलो संख्यामा नेपाली छन् भने कश्मिरसहित पन्जाब लगायतका क्षेत्रमा रोजगारीका लागि ठूलो संख्यामा नेपाली जाने गरेका छन् । यो सन्दर्भमा नेपालले भने क्षेत्रीय शान्तिका लागि मध्यस्थताको भूमिका खेल्न सक्छ। सुझबुझपूर्ण ढंगले नेपाली कुटनीतिले आर्थिक एकता र सहयोगको कमीले क्षेत्रीय विकासमा उत्पन्न बाधाको हल निकाल्ने अवसरसमेत छ ।