राजनीति

रवीन्द्र मिश्रमाथि सत्ताको डन्डा, अदालतकै आदेश प्रहरीले टेरेन


तीनकुने घटना प्रकरणमा पक्राउ परेका राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रमाथि सरकारले नियोजित रुपमा प्रतिशोध साधेको भन्दै संसदमा आवाज उठेको छ । तीनकुने घटनामा निष्पक्ष छानविन समिति बनाएर सत्यतथ्य बाहिर ल्याउने भन्दा पनि सरकारले राजावादीलाई थुनेर फरक विचार राख्नेहरुको आवाज थुन्न खोजेको आरोप लाग्दै आएको छ ।


चैत १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शनमा रवीन्द्र मिश्रले ‘साथीहरु तपाईंहरु विचलित नहुनुहोस्, सबै अगाडि आउनुहोस्, अगाडि बढ्नुहोस्, पछाडि–पछाडि बस्ने होइन,’ भन्दै दिएको अभिव्यक्तिका कारण ३८ दिनदेखि प्रहरी हिरासतमा छन् ।

तीनकुने घटनामा मिश्र न कार्यक्रम आयोजक थिए न त प्रमुख वक्ताका रुपमा नै थिए । तर सरकारले उनलाई घटनाको मुख्य योजनाकार र अभियुक्तलाई जस्तो निर्मम व्यवहार गरिरहेको छ । विचारभन्दा माथि देश भन्दै वैकल्पिक राजनीतिको विगुल फुकेका रवीन्द्र मिश्र, एकाएक मार्ग परिवर्तन गरेर राजावादी बने । राप्रपाको वरिष्ठ उपाध्यक्ष बने र अब जसरी पनि राजा फर्काउने भन्दै हौसिएका उनी लोकतन्त्रमा बोलेकै कारण हिरासतमा बस्नु परेको छ । उनी लगायत पक्राउ परेकाहरुमाथि संगठित अपराध र राज्यविरुद्धको कसुरमा मुद्दा चलाउने तयारी भइरहेको छ ।मिश्रसँगै पक्राउ परेका धवलशमशेरराणा दुई साता अघि स्वास्थ्यको कारण देखाउँदै राजनीतिक पहुँचका आधारमा हिरासतमुक्त भएका छन् ।

केही साता रुम पार्टनर रहेका राणा छुटेपछि मिश्र अहिले जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा एक्लै छन् ।बाहिर देखिँदा प्रायः हँसमुख र उज्यालो मुद्रामा देखिने मिश्रको अनुहारमाअहिले भने थकित भाव झल्किन्छ ।राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद बिना लामाले तीनकुने घटनाको सत्यतथ्य सार्वजनिक गर्न न्यायिक छानविन आयोग गठनको माग गरेकी छन्।सोमबार प्रतिनिधिसभाको बैठकमा उनले चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा सहभागी भएकै आधारमा राप्रपाका वरिष्ठ उपाध्यक्ष मिश्रलगायतलाई अपमानजनक ढंगले प्रहरी हिरासतमा राखिएकोउल्लेख गर्दै सो कार्य घोर भत्र्सनायोग्य रहेको बताइन् ।

त्यसो त मिश्रलाई छुटाउन राप्रपाको नेतृत्वलेपनि पर्याप्त दबाब दिन सकेको छैन ।यद्यपि, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहितका केही नेताहरु भने नियमित जसो मिश्रलाई भेट्न भद्रकालीस्थित जिल्ला प्रहरी परिसरमा पुग्ने गरेका छन् ।लिङ्देनले मिश्रको रिहाइबारे सबैजसो सार्वजनिक वक्तव्यहरुमा आवाज उठाउँदै आएका छन् ।

मिश्रमाथि संगठित अपराध र राज्यविरुद्धको कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ । संगठित अपराधमा प्रहरीले अधिकतम ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ । तर, जिल्ला अदालत, काठमाडौंले बैशाख १० मा बयान सकिएको अवस्थामा बाँकी केही बुझ्नु पर्ने नभए तीन दिनभित्र हाजिर जमानी वा तारेखमा छाड्न आदेश दिएको थियो । त्यसबेला प्रहरीले सरकारी वकिलमार्फत थप अनुसन्धानका लागि २० दिन हिरासतमा राख्न अनुमति मागेको थियो ।तर, तीन दिनलाई मात्र अनुमति दिएपछि मिश्र उत्साहित भएका थिए । यो आदेश आउनुको पछाडि उनले हाजिर जमानतमा छाडी पाउँ भन्दै दिएको निवेदनलाई समेत कारण मानिएको थियो । न्यायाधीशले स्वास्थ्य कारणसमेत उल्लेख गर्दै थप आधार, प्रमाण नभए हाजिर जमानतमा छाड्न भनेका थिए ।तीन दिनपछि म्याद थप गर्न लैजाँदा अर्का न्यायाधीशले उनीहरुलाई ७ दिन हिरासतमा राख्न अनुमति दिए ।

आइतबार फेरि उनीसहित २५ जनालाई थप ५ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । यो आदेशपछि आफ्नो हिरासत बसाईं थप लम्बिनेमा उनी निश्चिन्त छन् ।तर अदालतले नै दिएको आदेशको पालना नहुँदा राज्य संयन्त्रबाटै न्यायपालिकाको धज्जी उडाउने काम भएको छ । त्यसो त अदालतको इजलासले हिरासत अवधिबारे प्रहरीको ध्यानाकर्षण गराउँदै अनुसन्धानकै क्रममा हिरासतमुक्त गर्न सक्ने कानुनी प्रावधानबारे सम्झाएको देखिन्छ । तर सरकारी वकिलको कार्यालयले भने अनुसन्धानको प्रक्रिया बाँकी रहेको भन्दै म्याद थपका लागि अदालत लगिरहेको छ । अहिले मिश्रलाई अदालतमा लैजाँदा हत्कडीसहित हिँडाएको र प्रहरीले बोल्न नदिएका दृश्यहरु सार्वजनिक हुँदा उनको पक्षमासहानुभूति बढ्न थालेको छ ।

मिश्रले बारम्बार आमाको कसम खाँदै तीनकुने घटना घटाउने आफ्नो कुनै पनि नियत, योजना नभएको जिकिर गर्र्दै आइरहेका छन् । विस्तारैै मिश्रको पक्षमानागरिकसमाजका अगुवादेखि पत्रकार र मनिषा कोइरालासम्म उभिन थालेका छन् । उनको पक्षमा बढ्दो सहनुभूति र समर्थनले भने सरकारमाथि दबाब बढ्दै गएको छ । त्यसो त पञ्चायतविरुद्ध लडेका र कांग्रेस निकट मानिने खेमराज सेढाईंलाई समेत अहिले तीनकुने प्रकरणमै प्रहरीले पक्राउ गरेको छ । केही दिनअघि मात्रै ९ जना पुराना कांग्रेसी नेतालाई संवैधानिक राजतन्त्रको पक्षमा बोल्न उनै सेढाईंले संयोजनकारीको भूमिका खेलेका थिए ।

कुनै समय देउवा निकट मानिने उनी पछिल्लो समय उग्रराजावादीको रुपमा प्रस्तुत भएका थिए । राजावादी बनेसँगै कांग्रेस निकट सेढाईंको समेत हिरासतको बास हुनुले मिश्रमाथि सरकारको व्यवहार यसै नरम हुने छाट देखिँदैन । त्यसैले उनले आफूप्रति राज्य प्रतिशोधी बनेको आरोप लगाउँदै आएका छन् । यद्यपि, अनुसन्धान प्रक्रिया टुंगिन लागेको अवस्थामाकेही दिन हिरासत बसाईं लम्बिए पनि अदालतबाट न्याय पाउनेमा मिश्र विश्वस्त देखिन्छन् ।