एकछत्र नेतृत्व र प्रश्न निषेधित अवस्थाको आक्षेप खेप्दै आएको नेकपा एमालेभित्र भिडन्त बढ्न थालेको छ । यसैको उपज केन्द्रमा नेतृत्वमाथि नै प्रश्न उठ्ने तथा गुटगत राजनीति बढ्दा जिल्लामा हानाहानकै अवस्था देखिन थालेको छ । जसलाई काउन्टर दिने केपी ओलीका अनेक रणनीतिसमेत फेल खाँदा कस्तो छ त एमालेको गुटको अवस्था?
जनकपुरमा जारी अधिवेशनमा मंगलबार मतदाताको नामावली विवाद कुर्सी हानाहानमा परिणत भयो । कार्यक्रम हेर्ने हो भने मंगलबार बिहान ८ बजेदेखि निर्वाचन थाल्ने तयारी गरिएको थियो ।जहाँ अध्यक्षमा रघुवीर महासेठ पक्षले भोला यादवलाई अध्यक्षमा अघि सारेको छ भनेअर्का प्रत्यासी लक्ष्मीनारायण यादव नेता उमाशंकर अरगरिया पक्षका उम्मेदवार हुन् ।जहाँ लक्ष्मीनारायण पक्षले भने मतदाता नामावलीमा थपघट गरिएकोमा त्यसलाई सच्याउन माग गर्दै निधि भवनमा धर्ना बसेको थियो । तर विवाद बढ्दै जाँदायी दुई पक्ष नै भिडन्तमा उत्रिए। अर्थात संस्थापनबाट पेल्ने काम भएपछि बढेको तनाव र गुटगत राजनीतिको उपज हो यो ।
यो अवस्था मोरङ जिल्ला अधिवेशनमा समेत भएको थियो । नेताहरु भिडन्तमै नउत्रिएपनि संस्थापनलाई हायकायल बनाएका विनोद ढकाल उद्घाटन सत्रमै रिसाएका थिए । ओलीका विश्वासपात्र पर्शुराम बस्नेतले अवैधानिक नेतृत्व भन्दै बोल्न नदिएपछि सो समयमा ढकालले मञ्चमै प्रतिवाद गरेका थिए। जबकि ढकाल ओलीले चाहेको सर्वसहमतीलाई च्यालेन्ज गर्दै निर्वाचनबाट आफ्नो प्यानल नै जिताउन सफल भए ।
यी त जिल्ला तहको उदाहरणमात्र हो । केन्द्रमै पनि ओली घेरिँदै आएका छन् । वैशाख २१ को सचिवालय बैठकमै उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र ओलीबीच सवालजवाफ भएको थियो । शिक्षामन्त्रीबाट विद्या भट्टराईले राजीनामा दिएपछि उनको पक्षमा शाक्यले स्टाटस लेखेकी थिइन् भने त्यसले ओलीलाई नबिझाउने कुरै भएन । यसबाहेक पूर्व राष्ट्रपति विद्या भण्डारी सक्रिय राजनीतिमा फर्किने विषयले होस कि यसअघि प्रदेश अधिवेशनमा देखिएको दृश्यले होस्, ओलीमाथि प्रश्न बलियो बन्दै गएको छ । परिणाम गुटगत राजनीति गर्नेमाथि धम्की दिँदै आफू बाँचुन्जेल नेतृत्वको विकल्प नखोज्न चेतावनी दिँदै आएका छन् ।
हुन त ओलीले रघुजी पन्तलाई शिक्षामन्त्री बनाएर दश भाइ फकाउने संकेत गरिसकेका छन् । तर समस्या यतिमै समाधान हुने अवस्था छैन । भण्डारीले वैशाख १ मा एमालेको सदस्यता नवीकरण गरेसँगै एमालेमा अहिले ओलीसँगै भण्डारी समूहको प्रभाव बढिरहेको देखिन्छ। जुन ईश्वर पोखरेल, पृथ्वीसुब्बा गुरुङमात्र नभई ओलीका विश्वास पात्र मानिएका गोकुल बास्कोटासम्म छन् । यही गुटमा गृहप्रदेशमा ओलीलाई स्वाद चखाएका विनोद ढकालसमेत छन् । यसबाहेक पूर्वमाओवादीको अर्को गुट रहँदा उपाध्यक्ष विष्णु पौडेलको पनि छुट्टै सक्रियता छ । जसको नतिजा पार्टीभित्रको भिडन्तमात्र नभई अन्तरपार्टी सम्बन्धमा समेत प्रभाव देखिन थालेको छ । यसैको उदाहरण विष्णु लगायतका नेता माओवादी फकाउने लाइनमा रहँदा योगेश भट्टराई लगायतओली फकाउने बाटोमा रहेकाहरुले भने आगो ओकलिरहेका छन् ।
प्रतिक्रिया