राजनीति

रवि थुन्न जीबी भगाएको आरोप,सत्ता छोड्ने कांग्रेसलाई एमालेको धम्की


आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफलको पहिलो दिन नै संसदमा नेताहरु एकअर्कामाथि आरोपप्रत्यारोपमा उत्रिएका छन् । नीति तथा कार्यक्रमभन्दा पनि राजनीतिक प्रतिशोधको दोषारोपणमा उत्रिँदा सिंगो सदननै झगडिया थलो बन्न पुगेको आरोप लागिरहेको छ ।

आगामी आर्थिक वर्ष २०८२÷८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफलको पहिलो दिन नै संसदमा नेताहरु एक अर्कामाथि आरोपप्रत्यारोपमा उत्रिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गतेसंघीय संसदको दुवै सदनमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभामासोमबारदेखि छलफल सुरु भएको हो । सो छलफलमा सहभागी दलका सांसदहरुले नीति तथा कार्यक्रमलाई भन्दा बढी राजनीतिक प्रतिशोध र एजेन्डालाई नै बढी महत्व दिए । सांसदहरुले विषयभन्दा बाहिर गएर आफ्ना मनका कुन्ठा पोख्न पुगे । सरकारको नेतृत्व गरिरहेको दल नेकपा एमालेका सांसद सूर्य थापाले सत्ता सहयात्री दल नेपाली कांग्रेसका असन्तुष्ट नेताहरूलाई आफ्नो कुरा आफ्नै पार्टी सभापतिसमक्ष राख्न सुझाएका छन् ।गठबन्धन बनाउन भूमिका कसको थियो वा थिएन भन्ने भन्दा बनिसकेको सरकारलाई सफल बनाउने दायित्व सत्तारुढ दलहरुको भएको भन्दै कांग्रेसका नेताहरुतर्फ थापाले प्रश्न तेर्साएका थिए ।

प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै थापाले ‘सत्ता साझेदार दलहरूभित्र नेतृत्व तहमा कहिलेकाहीँ लोकप्रियतावादको दुस्प्रभावले पनि काम गरिरहेको देखिएको उनको भनाइ छ । साथै लोकप्रियतावाद कसरी प्रकट हुन्छ भन्ने दृष्टान्त नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक फेरिनु रहेको उनको तर्क थियो ।ऊर्जामन्त्रीले प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको र ऊर्जामन्त्री कांग्रेसकै तर्फबाट मन्त्री रहेको उल्लेख गर्दै थापाले कुलमान प्रकरणमा प्रधानमन्त्रीलाई मुछेको विषयमा असन्तुष्टि जनाए । गठबन्धन सरकारको अभ्यास र कार्य तरिका कस्तो हुन्छ भन्ने हेक्का राख्न पनि कांग्रेसका असन्तुष्ट नेताहरूलाई सांसद थापाले आग्रह गरे ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जीबी राई पक्राउ नपरेको विषयमा नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि प्रश्न तेर्साएको छ । रास्वपा सांसद गणेश पराजुलीले कांग्रेस नेतृत्वको गृहमन्त्रीले मन्त्रालय सम्हालेको १० महिनासम्म पनि जीबी राई पक्राउ नपर्नुका कारण के हो भन्दै महामन्त्रीद्वयलाई प्रश्न गरे।सञ्चारमाध्यममा सुन्नमा आए अनुसार १६ अर्ब ५० करोडमध्ये सात अर्बमात्र जीबी राईले आफूले लिएको र तिर्छु भनेको सुनिएको उल्लेख गर्दै सांसद पराजुलीले बाँकी नौ अर्ब ५० करोडको भागिदार कोको हुन् भन्ने अनुसन्धान हुँदा सबै उदांगो हुने डरले जीबी राईलाई पक्राउ नगरिएको हो ? भन्दै प्रश्न गरे । साथै उनले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिबाट औँल्याएको ८७ अर्ब ठगी र सो प्रकरणसँग जोडिएका पीडक कति जनालाई कारबाहीको दायरामा ल्याइयो ?भनेर अर्को प्रश्न तेर्साए । पराजुलीले कांग्रेसका उपसभापति धनराज गुरुङविरुद्ध उजुरी परेको मितेरी सहकारीको १४ करोड रुपैयाँबारे छानबिन हुन्छ कि हुँदैन भन्दै सरकारमाथि प्रश्न उठाएका छन् । उनले सहकारी प्रकरणमा मुछिएका ठूला दलका नेतालाई कारबाही नगरिएको प्रति आपत्ति जनाए ।

सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी भएका प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नीति तथा कार्यक्रम ठिक ढंगले नआएको बताए । उनले नीति तथा कार्यक्रमले सत्ताधारी दलमै उत्साह जगाउन नसकेको उल्लेख गर्दै अगाडि भने, ‘आम जनतामा आशा कसरी सञ्चार गर्ला ? यो कार्यक्रम कस्तो र कसका निम्ति आएको रहेछ भन्ने अनुमान लगाउन सकिन्छ ।’ प्रचण्डले दुईतिहाइको बहुमत प्राप्त सरकारले कुशासन मात्र दिएको दाबी गरे । उनले दुईतिहाइको अहंकार बोकेर कुशासनको घोडामा कुदिरहेको सरकार औपचारिता पूरा गर्न मात्र आएको देखिएको र यो सरकारले जनस्तरको असन्तोष, अर्थतन्त्रको जटिलता कार्यान्वयन गर्न नसकेको जिकिर गरे । महिना दिन बितिसक्दा पनि एउटा गभर्नर नियुक्त गर्न नसकेको उल्लेख गर्दै उनले दुई तिहाइको अहंकारको बेलुन फुटिसकेको दाबी गरे ।

सत्तारुढ गठबन्धनप्रति आक्रोशित देखिएका अध्यक्ष प्रचण्डले सरकारको नीति तथा कार्यक्रमलाई औपचारिक र कर्मकाण्डी मात्रै भएको टिप्पणी गरे । उनले नीति तथा कार्यक्रम सच्याउन सरकारलाई आग्रह गरेका छन् । यस्तै बजेटका सिद्धान्त र प्राथमिकता प्रि बजेटमा छलफलको प्रावधान फेरेको प्रति प्रधानमन्त्रीसँग असन्तुष्टि जनाए । जनताको मुद्दा र एजेण्डाको छलफल गर्ने थलोको रुपमा रहको प्रतिनिधिसभालाई सांसदहरुले एक अर्काप्रति दोषारोपणलाई नै बढी जोड दिन थालेका छन् । जसले जनताको विषय भने ओझेलमा पर्न थालेको देखिन्छ । प्रतिपक्षले सत्ताको विरोध गर्नु संसदीय धर्म भए पनि रचनात्मक भूमिका खेल्न चुक्दै गएको देखिन्छ भने सत्ता पक्ष पनि आफूले गरेका हरेक काम सही भएको रटानमा उभिँदा सदनका हरेक बैठक एकअर्काविरुद्ध तीतो ओकल्ने थलो मात्रै बन्दै गएको छ । ०००