राजनीति

भाँडिएको सीके–रेशम एकता, ओलीदेखि रञ्जितासम्मै आशंका


सीके राउत र रेशम चौधरीले पूर्वदेखि पश्चिम तराई क्षेत्रको भूभागमा साम्राज्य खडा गर्न खोजे पनि तत्कालका लागि त्यो सम्भव हुन सकेन । आन्तरिकदेखि बाह्य शक्तिहरूले समेत उनीहरूको प्रयासमा बाधा पु¥याउँदा पार्टी एकता प्रक्रिया नै रोक्नु परेको छ । आखिर एकताको मुखैमा आइसकेको एकीकरण प्रक्रिया कसका कारण रोकियो त ?

एक साताअघि अर्थात् गत वैशाख १७ गते नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ नपरेको हुन्थे भने जनमत पार्टीका अध्यक्ष डा. सीके राउत संसदको छैटौं ठूलो दलको नेता बनिसक्थे । तर, उनको देशकै छैटौं ठूलो दल बनाउने सपना चौधरीको धरपकडसँगै हाललाई बिचैमा तुहिएको छ ।

जसका कारण औपचारिक रूपमा घोषणा हुन मात्रै बाँकी रहेको एकता अभियान लथालिङ्ग अवस्थामा पुगेको छ । नागरिक उन्मुक्ति पार्टी पटक पटक शक्ति बाँडफाँडका कारण आन्तरिक विवादमा पर्दै आएको छ । रेशम चौधरी र रञ्जिता श्रेष्ठ दम्पती नै प्रमुख भएको पार्टीमा शक्तिका लागि यी दुईबीच नै खिचातानी हुने गरेको छ । यस्तोमा डा.सीके जस्ता प्रभावशाली नेता पार्टी पंक्तिमा आउँदा दलभित्र झन् असन्तुलन बढ्न सक्ने आन्तरिक मूल्याङ्कन छ ।

जनमत र नागरिक उन्मुक्तिको एकताको बाधकमध्ये एउटा कारक नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईंसमेत हुन् । डा.भट्टराई पहिलेदेखि नै मधेशमा पनि आफ्नो प्रभाव देखाउन चाहन्छन् । त्यसैले मधेश केन्द्रित दल उपेन्द्र यादवको जनता समाजवादी पार्टी नेपालसँग उनको सहकार्य पनि भएको थियो । त्यसैले यसअघि नै बाबुरामले सीके र रेशमको एकतामा आफू पनि मिसिने बताएका थिए । आफ्नो पार्टीको महाधिवेशनमा समेत बाबुरामले रास्वपासहित जनमत र नागरिक उन्मुक्तिलाई पनि निमन्त्रण गरेका थिए ।

तराई मधेशमा सीके, पश्चिम थरुहटमा रेशम र पहाडी लगायतका जिल्लामा आफ्नो उपस्थितिले पार्टीलाई बलियो बनाउने उनको बुझाई छ । त्यसैले आफ्नो राजनीतिक धरातल खोजिरहेका बाबुराम सीके र चौधरीको अभिभावकसँगै छोरी मानुषीलाई समेत रञ्जिता पछिको वरीयतामा समेट्न चाहन्थे । एकता प्रक्रियामा बाबुराम हावी भएपछि रेशम र सीकेले बाबुरामलाई नै बाइपास गरेर एकता प्रक्रिया अगाडि बढाएका थिए । त्यसपछि बाबुरामले भारत गएर समेत यो एकता रोक्न र एकताको नेता आफूलाई बनाइदिन आग्रह गरेको विश्लेषकको दाबी छ ।

देशका दुई क्लस्टर मधेश र थरुहटको मिलनले राजनीतिमा ठुलो सन्देश जाने नै थियो । पूर्वी र पश्चिमी भूगोलमा विशेष प्रभाव क्षेत्र बनाएर राजनीति गरिरहेका दुई पार्टीबीच एकता भएको भए सबैभन्दा ठुलो मधेस केन्द्रित दल बन्ने पक्का थियो । पुराना दलप्रतिको वितृष्णासँगै दुवै दलको नेतृत्व युवा पंक्तिले नै गरेको हुँदा मधेश र थारुहटका मतदाताले अपनत्व समेत गर्ने निश्चित थियो ।

तर सत्तामा बसेकाहरूले तिथि मिति सबै गणना नै गरेर ढोक्सा थाप्दा यी सबै उद्देश्यमा तत्कालका लागि पूर्णविराम लागेको छ । मंगलबारको संसद् बैठक अवरोध नै गरेर रेशमको पक्राउबारे निष्पक्ष छानविन गर्न सरकारसँग जवाफ मागेका दुई दलका नेताहरूले साना दल सक्न आफूहरूको एकता भाँडेको आरोप लगाएका छन् ।

रेशमलाई पक्रनुको उद्देश्य एकता भाँड्नुबाहेक अरु केही नभएको आरोप लगाइएको छ । एकता भाँडिए लगत्तै पाँच घण्टापछि रेशमलाई रिहा गर्नुले पनि पुष्टि गर्छ । अहिले अदालतका एक कर्मचारी मात्रै दोषी देखिए पनि भोलि छानविन हुँदा सत्यतथ्य बाहिर आउला नै ।

तर, कुनै सस्पेन्स र थ्रिलर चलचित्रलाई पनि मात खुवाउने गरी विकसित गत वैशाख १७ गतेको राजनीतिक घटनाक्रमले दुई राजनीतिक दलको योजना नै तहसनहस गरिदिएको छ । पूर्वदेखि पश्चिमसम्मका भूभागमा पकड जमाउने उनीहरूको उद्देश्य सपना झै गरी टुट्दा अब के होला भन्ने अन्योलता छाएको छ । यद्यपि, नेता कार्यकर्तादेखि नेतृत्व पंक्ति नै अनिश्चिततामा रुमल्लिरहँदा आफूहरूको एकतालाई मिलन बिन्दुमा पु¥याएरै छोड्ने अठोटमा दुई दल लागिपरेका छन् । उनीहरुको प्रयासले कहिले मूर्तरुप पाउँछ अहिले कै अवस्थामा भने यसै भन्न सकिने अवस्था छैन ।