अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुख्यात अपराधीहरुलाई राख्ने गरिएको जेल अल्काट्राजलाई पुनः सञ्चालन र विस्तार गर्न आदेश दिएका छन् । यो जेल सन् १९६३ मा बन्द गरिएको थियो । ट्रम्पको आदेशसँगै अल्काट्राज कारागारबारे चर्चा सुरु भएको छ ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कुख्यात अपराधीहरुलाई राख्ने गरिएको जेल अल्काट्राजलाई पुनः सञ्चालन र विस्तार गर्न आदेश दिएका छन् । यो जानकारी उनले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत् दिएका हुन् । ‘म आज ब्युरो अफ प्रिजन, न्याय मन्त्रालय, संघीय जाँच ब्युरो तथा होमल्यान्ड सेक्युरिटीलाई उल्लेखनीय रूपमा विस्तारित र पुनर्निर्मित अल्काट्राजलाई पुनः सञ्चालनमा ल्याउन निर्देशन दिँदै छु’ ट्रम्पले लेखेका छन् । उक्त जेलमा अमेरिकाका सबैभन्दा डरलाग्दा तथा हिंस्रक अपराधीलाई राखिने छ । अमेरिका लामो समयदेखि कुख्यात, हिंस्रक र पटके अपराधीहरूबाट पीडित भइरहेको भन्दै ट्रम्पले अल्काट्राज जेलको पुनः सञ्चालनले कानुनी व्यवस्था र न्यायको प्रतीकको रुपमा काम गर्ने विश्वास व्यक्त गरेका छन् ।
क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्को सहरस्थित गोल्डनगेट ब्रिज नजिकैको सानो टापु अल्काट्राजमा अवस्थित यो एक पुरानो जेल हो । यसलाई बीसौं शताब्दीको सुरुमा पुनर्निर्माण गरिएको बताइन्छ । नौसैनिकहरुले सुरुमा सुरक्षा किल्लाको रुपमा प्रयोग गरेको अल्काट्राजलाई पछि कारागारका रूपमा प्रयोग गरिएको थियो । त्यहाँ अत्यन्तै खतरनाक र बारम्बार जेलबाट भाग्ने अपराधीहरूलाई राख्ने गरिन्थ्यो । टापुमा रहेको हुँदा यहाँबाट भाग्न अत्यन्त कठिन मानिन्थ्यो । कडा सुरक्षा र चिसो पानीका कारण भाग्ने प्रयासहरू असफल हुन्थे । तर पनि सन् १९६२ मा तीन जना कैदीहरूको भाग्ने प्रयास अहिलेसम्म पनि रहस्यमय मानिन्छ । उनीहरू बाँचे कि मरे पुष्टि हुन सकेको छैन ।
यो जेल सन् १९६३ मा बन्द गरिएको थियो । त्यसपछि अल्काट्राज हाल पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । टापुमा रहेकाले त्यहाँ खाना, पानी, इन्धन र अन्य आवश्यक सामग्रीहरू सबै सानफ्रान्सिस्कोबाट डुंगामार्फत लैजानुपथ्र्यो । अन्य स्थानका कैदीहरूका तुलनामा यहाँ प्रतिव्यक्ति खर्च तीन गुणा बढी थियो । यसैगरी अल्काट्राजका भवनहरू समुद्री हावाको कारण छिट्टै क्षतिग्रस्त हुँदै गएका थिए । भवनहरूको मर्मत गर्न धेरै पैसा खर्च हुन्थ्यो । भविष्यमा यसको संरक्षण सम्भव नहुने देखिएको थियो । टापुमा फोहोर व्यवस्थापन र नाली प्रणाली कमजोर थियो, जसले खाडीको वातावरणमा असर गरिरहेको थियो । अमेरिकी सरकारसँग नयाँ, बढी सुरक्षित र कम खर्चिलो जेलहरू निर्माण गर्ने योजना थियो । त्यसैले अल्काट्राजलाई बन्द गरी नयाँ जेलहरू खोल्ने निर्णय गरिएको थियो ।
सन् १९६२ मा बनेको ‘बर्डम्यान अफ अल्काट्राज’ फिल्मका कारण सो जेलले चर्चा पाएको थियो । उक्त चलचित्रमा हत्यामा दोषी ठहर भई आजीवन काराबासको सजायँ पाएका एक पात्र चराहरूको अवलोकनमा रुचि राख्दाराख्दै चरा विज्ञ बन्न पुगेको कथा छ । यसैगरी सन् १९९६ को चलचित्र ‘द रक’ पनि त्यहीँ छायांकन गरिएको थियो । त्यसैले अल्काट्राजलाई ‘द रक’ भनेर पनि चिनिन्छ ।
ट्रम्पले यो आदेशमार्फत हिंसात्मक र बारम्बार अपराध गर्नेहरूप्रति कठोर नीति अपनाउने सन्देश दिन खोजेका छन् । यो कदमलाई ट्रम्पको राजनीतिक रणनीतिको हिस्साको रूपमा पनि हेरिएको छ ।
अल्काट्राज, जुन ऐतिहासिक र कुख्यात जेल हो, यसलाई पुनः सञ्चालन गर्ने घोषणाले मिडियाको ध्यान आकर्षित गर्न र उनको “कानुन व्यवस्था“ सम्बन्धी एजेन्डालाई बलियो बनाउन सहयोगी हुने विश्वास गरिएको छ । यो उनको मतदाता आधार, विशेषगरी रूढिवादी समर्थकहरूलाई आकर्षित गर्ने प्रयास पनि हो । यो कदमलाई मानवअधिकारवादी र सुधारवादीहरूले आलोचना गर्न सक्ने देखिन्छ । अल्काट्राज जस्तो कुख्यात जेललाई पुनः सञ्चालन गर्नुले कैदीहरूको पुनस्र्थापना र सुधारभन्दा सजायलाई प्राथमिकता दिएको सन्देश प्रवाह भएको छ । साथै, यसले जेल सुधार र मानवअधिकारसम्बन्धी बहसलाई पुनर्जनन गर्न सक्ने देखिन्छ । अल्काट्राज जेल पुनः सञ्चालन गर्न र विस्तार गर्न ठूलो आर्थिक लगानी आवश्यक पर्ने छ । जेलको भौतिक संरचना, सुरक्षा प्रणाली, र कर्मचारी व्यवस्थापनमा ठूलो खर्च हुनेछ । हाल पर्यटकीय स्थलको रूपमा सञ्चालित यो क्षेत्रलाई जेलमा परिणत गर्दा पर्यटन उद्योगमा नकारात्मक प्रभाव पर्न सक्ने औँल्याइएको छ ।
ट्रम्पले यो जेलमा अवैध आप्रवासी र हिंस्रक अपराधीहरूलाई राख्ने योजना बनाएको उल्लेख गरेका छन् । यसले आप्रवासी समुदायमा त्रास र असुरक्षा बढाउन सक्ने सम्भावना पनि छ । कठोर जेल नीतिले सामाजिक विभाजनलाई गहिरो बनाउन सक्छ, विशेषगरी अल्पसंख्यक र कमजोर समुदायहरूमा । ट्रम्पका अघिल्ला आदेशहरू अदालतले रोकेको इतिहासलाई हेर्दा, यो निर्णयले पनि कानुनी चुनौतीको सामना गर्न सक्छ । अल्काट्राज जस्तो कुख्यात जेलमा राखिनुले कैदीहरूमा मनोवैज्ञानिक तनाव र सामाजिक पुनस्र्थापनाको सम्भावना कम गर्न सक्ने चुनौती पनि छ । यो नीतिले अपराधीहरूलाई समाजबाट अलग गर्ने सन्देश दिएको छ । जसले सामाजिक एकता र सुधारका अवसरहरूलाई कमजोर बनाउन सक्छ । ट्रम्पको आदेशसंगै अल्काट्राज जेलले फेरि चर्चा पाएको छ । तर दशकौं अगाडि बन्द भएको जेल फेरि सञ्चालनमा ल्याउने ट्रम्पको निर्णय कति व्यवहारिक र न्याय संगत हुन्छ ? त्यसतर्फ भने बहस हुन आवश्यक देखिएको विश्लेषकहरुको टिप्पणी छ ।
प्रतिक्रिया