Breaking

वर्तमान सरकार मुलुकको निम्ति बोझ भयो : माधवकुमार नेपाल


काठमाडौं—नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले वर्तमान सरकार मुलुकको निम्ति बोझ बनेको भन्दै विकल्प खोज्नुपर्ने बताएका छन्। संसद भवन परिसरमा सञ्चारकर्मीसँग अध्यक्ष नेपालले विकल्प खोज्नुपर्ने बताएका हुन्।

वर्तमान सरकारले अहिलेको व्यवस्था जोगाउन, बचाउन, जनतामा आशा जगाउन, युवाहरुको समस्या समाधान गर्न, देशको अर्थतन्त्रमा आमूल परिवर्तन गर्न कुनै पनि क्षेत्रमा रुची नदेखाएको उनको आरोप छ।

अध्यक्ष नेपालले परम्परा धान्ने गरी मात्र सरकारले नीति तथा कार्यक्रम ल्याएको बताए। उनले सरकार परिणामविहीन मात्र नभइ उद्देश्यविहीन हुन पुगेको जिकिरसमेत गरे।

सरकारको विकल्प खोज्नुपर्ने भए पनि दुई ठूला राजनीतिक दलहरु मिलेसम्म कुनै विकल्प नहुने निराशा पनि उनले व्यक्त गरे। अध्यक्ष नेपालले सरकार गतिहिन र यथास्थितिवादी अवस्थामा रहेको आरोपसमेत लगाए।