राजनीति

ओलीसँगको पंगा महँगो, रवि–बालेनदेखि गगनसम्मै ठेगान लगाए


सरकारले काम गर्न नसकेपछि सत्तारुढ पार्टीकै विरोधको स्वर बाक्लिँदै गएको छ । तर, हालका प्रधानमन्त्री र हुनेवाला प्रधानमन्त्रीको मन मिल्दा उनीहरु पछिका नेता र सिंगो पार्टी पंगु बनेका छन् । यही अहंकारका बलमा सरकारको मनलाग्दीको श्रृंखला पनि बढ्दै गएको छ ।

शक्तिशाली सरकार बनेयता प्रधानमन्त्री केपी शर्मा ओलीको पेलानमा पर्नेहरुको सूची लम्बिँदै गएको छ । कसैमाथि न्यायिक प्रक्रियामै अन्याय भएको छ । कसैलाई चुचुुरोमा प¥याएर एक्कासी भुँइमा पछारिएको छ । प्रतिपक्षीहरुले बिचौलियाको बलमा वर्तमान सरकार बनेको आरोप लगाउन नछाड्दा सरकारले त्यसलाई क्रमशः पुष्टि गरिरहेको छ । अर्थात, यो देश यस्तो बनेको छ कि पावर भए जे गरे पनि छुट । पावर नभए थाङ्नामै सुत । अहिले यो भूंग्रोमा कुनै समय सत्ताको तिजोरिमै हात लम्काउनेदेखि सामान्य भुइँ मान्छेसम्म परेका छन् ।

अधिक विश्वास दिएर अधिक हेलामा पारिएका पात्र अहिले गगन थापा बनेका छन् । सुरुमा शक्तिशाली सरकार चलाउने संयन्त्रका शक्तिशाली सदस्य । अहिले शक्तिशाली सरकारका निरीह एक नेता । शेरबहादर देउवा र डा. आरजु राणा देउवाको वचनले मात्र सरकार चल्ने भएपछि ओलीले गगनलाई बाइपास गरेका छन् । सुझाव सुन्न छोडेर मनोमानी बढेको भन्दै गगन ओलीसँग असन्तुष्ट छन् । यही कारण उनले संयन्त्रका बैठकहरु नै बहिष्कार गरिरहेका छन् । त्यसभन्दा माथि उठेर गगनले बैशाख २ गते प्रधानमन्त्रीको बेडरुमसम्मै बिचौलिया पुगेको सार्वजनिक अभिव्यक्ति दिएयता ओलीले गगनलाई बाइपास गरेका छन् । देउवा र आरजु नै समग्र कांग्रेस पार्टी बन्दा गगनले सरकारको बचाउ गर्ने लत्तो पनि छाडिसकेका छन् ।

अहिले ओली र सत्ताको पेलानमा परेका अर्का दुई पात्र हुन् रवीन्द्र र दुर्गा । जबकी एकै प्रकृतिको मुद्दामा पक्राउ परेका डा. धवलशमशेर राणा राजनीतिक पावरको आडमा छुटिसकेका छन् । तर, रवीन्द्रमाथि राजनीतिक प्रतिशोध साँधिएको स्पष्ट भएको उनी पक्षीय नेताहरुको आरोप छ । जबकी मान्छे बेच्नेजस्तो गम्भीर अपराध गरेका बालकृष्णा खाँण र टोपबहादुर रायमाझीलाई मज्जाले अभिनन्दन गराउँदै अदालत लगिएको थियो । तर, मिश्रलाई भने हतकडी लगाइएको हात ठड्याउनसम्म प्रहरीले दिएन । यसलाई हदैसम्मको ज्यादती भन्दै आलोचना भइरहेको छ । यहाँ हाकाहाकी मान्छेको ज्यान लिने कम्युनिस्टहरुले राजनीतिक मुद्दामा छुट पाइरहेका छन् । तर, दुुर्गाको सवालमा समेत ओली र एमालेले राजनीतिक प्रतिशोध लिइरहेको आरोप लाग्ने गरेको छ ।


अहिले भाटभटेनीमा स्याउ चोर्नेहरुको कथा त्यस्तै छ । तर, ती बालकहरुका लागि बोल्दिने कोही भएनन् । एक १४ वर्षीय नाबालक पनि थुनिएका छन् । जुन कुरा प्रहरी स्वयंलाई घाँडो भएको छ । ६ जनाले कक्षा १२ को परीक्षा त्यहीँ हिरासतबाट दिनुपरेको छ ।

पहुँच हुनेहरुले भटाभट हाजिरी जमानी पाइरहेका छन् । पहुँच नहुनेहरु निरीह बनेका छन् । एक नाबालक, ६ विद्यार्थी र रवीन्द्र मिश्रको पनि कथा त्यही हो ।

ओली सत्ताको पहिलो प्रतिशोधको सिकार बनेका पात्र हुन् रवि लामिछाने । उनको अपराधको ढाकछोप गर्न खोजिएको होइन । आफ्नो भागको सजाय रविले पाउनुपर्छ । तर, उनीभन्दा ठूलो अपराध गरेका नेता अहिले पनि सत्तामा रजगज गरिरहेका छन् । बेडरुमसम्मै प्रहरी पुु¥याउनेदेखि हतारका फैसला लगायतले रविमाथि प्रतिशोध भएको आरोपलाई बल पु¥याउने काम भएका छन् । जबकी उनै रवि हुन् जसलाई ओलीले स्वार्थ मिल्दा आफ्नै हातमा आएको गृह मन्त्रालयसमेत उपहार दिएका थिए ।

लामो समयदेखि बालेन तह लगाउने ओलीको मिसन केही हदसम्म पूरा भएको छ । सुकुम्बासी समस्यादेखि गिरिबन्धुको विषय उठाउँदा पपुलिज्मले जितेपछि हारेका ओली बालेनलाई साइजमा ल्याउने तीव्र महत्वाकांक्षामा थिए । तर, अहिले त्यो मौका पाएका छन् । राजावादीले प्रहार गरेका समय स्टन्ड गर्न नजान्ने पार्टीकी उपमेयरलाई ठाउँका ठाउँ परिचालन गरेर कार्यपालिकामार्फत नै बालेनको शीर निहुराउन ओली सफल भएका छन् ।

यी सबै ओलीको आशीर्वाद पाए सबै फलिफाप र श्राप पाए एक न एक दिन फसिन्छ भन्ने केही उदाहरण हुन् । भुटानी शरणार्थी, गिरिबन्धु काण्ड, सुनकाण्ड, पोखरा विमानस्थल काण्ड र यसमा संलग्नहरु, व्यक्तिहरुमा ऋषिकेष पोखरेल, अञ्जला कोइराला, राजीव पहारी, लीलाबल्लभ अधिकारी, धनराज गुरुङ, जीबी राई यो सरकारको नजरबाट हेर्दा भाग्यशाली विजेता हुन् ।