अन्तर्राष्ट्रिय

पाकिस्तानको धम्कीपछि मोदी आक्रोशित


जम्मू कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच तनाव निरन्तर बढ्दै गएको छ । पहलगाम आक्रमणपछि भारत र पाकिस्तानले एकअर्काविरुद्ध धेरै निर्णय गरिसकेका छन् । यसैबीच पाकिस्तानसँगको भारतीय सीमाका बासिन्दा सीमाबाट सुरक्षित क्षेत्रतर्फ बसोवास गर्न थालेका छन् ।

जम्मु–कश्मीरको पहलगाममा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीच बढ्दो तनाव अझै कम हुन सकेको छैन । अप्रिल २२ मा पहलगाममा २६ जना मारिने गरी भएको आतंककारी आक्रमणको दोष पाकिस्तानलाई दिँदै भारतले दुई देशबीचको सिन्धु जल सन्धि निलम्बन, सीमा नाका बन्द र पाकिस्तानी नागरिकको भिसा रद्दजस्ता धेरैवटा निर्णय गरिसकेको छ । प्रतिउत्तरमा पाकिस्तानले पनि १९७२ को सिमला सम्झौताबाट पछि हट्ने, नदीहरूको पानी रोक्ने वा मोड्ने प्रयासलाई युद्धको कार्य मानिने तथा पूर्ण शक्तिका साथ जवाफ दिइनेलगायत निर्णय गरेको छ । दुवै देशका राजनीतिक नेतृत्वले एकअर्कालाई कडा चेतावनी पनि दिइरहेका छन् ।

यसपछि दुवै देशले एकअर्काका लागि हवाई क्षेत्र पनि बन्द गरेका छन् । पाकिस्तानले पनि भारतको स्वामित्वमा रहेका वा सञ्चालित सबै एयरलाइन्सका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको छ । जहाज महानिर्देशनालयले पाकिस्तानी जहाजहरूलाई भारतीय बन्दरगाहमा प्रवेश गर्न नदिने बताएको छ । भारतको विदेश व्यापार महानिर्देशनालयले पाकिस्तानसँग हुने सबै प्रकारका आयातमा पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ । अर्को आदेश नभएसम्म तत्काल लागू हुनेगरी पाकिस्तानबाट हुने सबै प्रकारका प्रत्यक्ष, अप्रत्यक्ष आयातमा प्रतिबन्ध लगाउने निर्णय गरिएको छ । महानिर्देशनालयले भनेको छ, ‘पाकिस्तानी झण्डा फहराउने कुनै पनि जहाजलाई भारतीय बन्दरगाहमा प्रवेश गर्न दिइने छैन ।’

यस्तै भारतीय झण्डा फहराउने कुनै पनि जहाज पाकिस्तानको कुनै पनि बन्दरगाहमा जाने छैन । त्यस्तै आक्रमणपछि बढ्दो भारत पाकिस्तान तनावका बीच अब पाकिस्तानले इन्डियन प्रिमियर लिग (आईपीएल)को प्रशारण पनि बन्द गरेको छ । यसअघि भारतले पाकिस्तान सुपर लिग (पीएसएल)को प्रत्यक्ष प्रशारणमा प्रतिबन्ध लगाएको थियो । पीएसएल प्रतिबन्धसँगै पाकिस्तानी खेलाडीका सामाजिक सञ्जाल पनि भारतमा बन्द गरिएको छ । जसमा पाकिस्तानी क्रिकेटर बाबर आजम, मोहम्मद रिजान, शोएब अख्तर, शाहिद अफ्रिदी, वासिम अकरम जस्ता कैयौं सेलिब्रेटीहरु रहेका छन् । यसको जवाफमा पाकिस्तानले पनि आईपीएलमाथि प्रतिबन्ध लगाएको हो । तनावका बीच पाकिस्तानले क्षेप्यास्त्रको परीक्षण गरेको छ । जमिनबाट जमिनमा प्रहार गर्ने क्षेप्यास्त्र प्रक्षेपण गरेको हो । यसले ४५० किलोमिटरसम्मको लक्ष्यलाई निसाना बनाउन सक्छ ।

पाकिस्तानी सेनाको जनसम्पर्क विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि यो क्षेप्यास्त्र प्रक्षेपणको उद्देश्य सैनिकहरूको तयारी निश्चित र यसको प्राविधिक विशेषताको परीक्षण गर्नु थियो । यसले पनि थप दुई देशको सम्बन्धलाई चिस्याएको छ । तनाव बढिरहेका बेला एक जना पाकिस्तानी सेनाका रेन्जर्सलाई भारतीय सीमा सुरक्षा बल (बीएसएफ) ले गिरफ्तार गरेको छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार भारतको राजस्थानमा अन्तर्राष्ट्रिय सीमा पार गरेका पाकिस्तानी रेन्जर्स पक्राउ परेका हुन् । युद्धकै डरले सीमा क्षेत्रका बासिन्दा सीमाबाट सुरक्षित क्षेत्रतर्फ बसाईं सर्न थालेका छन् । दुई देशका सेनाबीच सीमामा झडपका घटना वृद्धि भइरहेका बेला सीमाका बासिन्दा सुरक्षित क्षेत्रतर्फ सरेका हुन् । चेनाब नदीको किनारमा बसोवास गर्ने कृषि बस्तीका करिब एक हजार ५०० बासिन्दा द्वन्द्वको डरले विस्थापित भएका जनाइएको छ । भारत पाकिस्तान एकअर्काविरुद्ध आक्रामक बनिरहेका छन् । आइतबार भारतको वायु सेना प्रमुख अमरप्रीत सिंहले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।

भेटवार्तामा वायुसेनाका वरिष्ठ अधिकारीहरू पनि सहभागी थिए । पाकिस्तानसँग जारी विवादका बीच भएको यो बैठकलाई महत्त्वपूर्ण मानिएको छ । दुवै देशका राजनीतिक नेतृत्वले एकार्कालाई कडा चेतावनी र उचित जवाफी कारबाही गर्ने धम्की दिइरहेका छन् । सन् १९४७ मा ब्रिटिस शासनबाट स्वतन्त्र भएदेखि नै कश्मीर भारत र पाकिस्तानको विवादित क्षेत्र बनेको छ । सन् १९९९ मा दुवै पक्षले आक्रमण गर्दा यो क्षेत्र नराम्ररी प्रभावित भएको थियो । लामो समयदेखि दुई देशबीच रहेको कश्मीर विवाद सुल्झिने भन्दा पनि थप तनाव बढ्दै गएको छ । यसै कारण कुनै न कुनै रुपमा पटक पटक युद्ध गरेका भारत पाकिस्तानबीच पछिल्लो पहलगाम घटनाले झनै तनावपूर्ण अवस्था बनेको छ । दुई देशबीच बढ्दो तनाव युद्धमा परिणत नहोला भन्ने सकिँदैन ।