Breaking

काठमाडौंमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना 


देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । पाँचवटा प्रदेशमा वर्षाको सम्भावना रहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

काठमाडौं उपत्यकामा पनि आज वर्षाको सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए । मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको उनले बताए । विभागले राति पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । 

पहाडी भूभागका थोरै स्थानमा तथा बाँकी क्षेत्रका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका थोरै स्थानमा तथा बाँकी हिमाली क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव छ । बंगालको खाडीबाट आइरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको विभागले बताएको छ ।