अन्तर्राष्ट्रिय

Canada Election : ट्रम्पका विरोधी कार्नीको नाटकीय जित, ट्रुडोकै शैलीमा अमेरिकालाई धम्की


क्यानडाको आम चुनावमा मार्क कार्नी नेतृत्वको लिबरल पार्टीले जित हासिल गरेको छ । यो जितपछि सत्ता नेतृत्वमा रहेका कार्नी अर्को कार्यकालका लागि प्रधानमन्त्री भन्ने भएका छन् । जित हात पारेपछि कार्नीले आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध टिप्पणी गरेका छन् ।

अमेरिकासँगको कर युद्धमा फसेको क्यानडामा प्रधानमन्त्री मार्क कार्नीको सत्तारुढ दल लिबरल पार्टीले जित हासिल गरेको छ । आमचुनावमा लिबरल पार्टीले जित हासिल गरेसँगै कार्नी क्यानडाको फेरि प्रधानमन्त्री बन्ने छन् । जितपछि कार्नीले आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि निसाना साँधेका छन् । प्रधानमन्त्री कार्नीले भनेका छन्, ‘क्यानडामाथि प्रभुत्व जमाउन सकियोस् भन्दै राष्ट्रपति ट्रम्पले हामीलाई टुक्राउने प्रयास गरिरहेका छन् जुन कहिल्यै सम्भव हुँदैन ।’ उनले अमेरिकासँगको पुरानो सम्बन्ध अब समाप्त भइसकेको र अमेरिकी विश्वासघातको आघातबाट उठेको उल्लेख गर्दै अगाडि भनेका छन्, ‘अब हामीले एकअर्काको हेरचाह गर्नुपर्छ ।’

ट्रम्पले क्यानडालाई बारम्बार व्यापार युद्धको धम्की दिँदै आएका छन् । यही चुनाव भइरहँदा पनि सोमबार ट्रम्पले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्म सोसल ट्रुथमा लेखेका थिए, ‘एउटा यस्तो नेता छान्नुहोस् जसले तपाईंको कर आधा घटाउन सकोस्, तपाईंको सेनालाई संसारको सबैभन्दा शक्तिशाली बनाउन सकोस् र तपाईंका कार, स्टिल, आल्मुनियम, काठ, ऊर्जा र अन्य सबै व्यवसायलाई कुनै कर वा शुल्कबिना नै चार गुणा बढाउन सकोस् । उनले अगाडि लेखेका थिए, ‘यदि क्यानडा अमेरिकी राज्य बनेन भने अमेरिकाले हरेक वर्ष क्यानडालाई सयौँ अर्ब डलरको सहायता दिने क्रम जारी राख्ने छैन ।’

कार्नीको यो जितलाई आश्चर्यजनक नतिजा मानिएको छ । किनभने, तीन महिनाअघिको मत सर्वेक्षणमा उनको पार्टी कन्जरभेटिभभन्दा पछि परेको थियो । कार्नी र उनको पार्टीको जितका पछाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ठूलो भूमिका रहेको बताइएको छ । ट्रम्पले गएको जनवरीमा राष्ट्रपति पद सम्हालेपछि क्यानडालाई अमेरिकाको ५१औँ राज्य बनाउने धम्की दिएका थिए । यस्तै, आयात कर र ट्रम्पले क्यानडालाई लगातार तर्साउने कार्य गरेकाले ‘सेन्ट्रल लेफ्ट’ पार्टीको भाग्यमा नाटकीय परिवर्तन आएको थियो ।
केही समयअघिसम्म क्यानडेली अर्थतन्त्रको अवस्था र तत्कालीन नेता जस्टिन ट्रुडोको १० वर्षे लिबरल सरकारप्रति असन्तुष्टिका कारण सर्वेक्षणक्रममा कन्जरभेटिभ पार्टीले ठूलो अग्रता बनाएको थियो । ट्रम्प प्रति कठोर बनेर उब्भिएका कार्नीले अन्ततः चुनाव जितेर चकित पारेका छन् । गत मार्चमा उनले निवर्तमान प्रधानमन्त्री जस्टिन ट्रुडोलाई प्रतिस्थापन गर्न लिबरल पार्टीको चुनाव सजिलै जितेका थिए । ट्रुडोलाई प्रतिस्थापन गरेर प्रधानमन्त्री पद सम्हालेका उनले अमेरिका र ट्रम्पको कडा प्रतिवाद गर्दै आफू र आफ्नो पार्टी राष्ट्रवादीका रुपमा उभ्याएका थिए । सोही कारण ट्रुडोको अन्तिम कार्यकालतिर खस्किएको पार्टीको छविलाई उनले एकाएक माथि उठाउन सफल भएका थिए ।
को हुन् त मार्क कार्नी ?

मार्क कार्नी एक अर्थशास्त्री तथा केन्द्रीय बैंकका पूर्व गभर्नर हुन् । सन् २००८ मा उनी बैंक अफ क्यानडाका गभर्नरमा चयन भएका थिए । क्यानडालाई आर्थिक मन्दीबाट बाहिर निकाल्न उनले चालेका कदमका कारण, सन् २०१३ मा उनलाई बैंक अफ इङ्ग्ल्यान्डको गभर्नर बन्ने प्रस्ताव गरिएको थियो । बैंक अफ इङ्ग्ल्यान्डको ३०० वर्षको इतिहासमा उनी पहिलो गैर–ब्रिटिश नागरिक थिए, जसलाई उक्त जिम्मेवारी दिइएको थियो । उनी २०२० सम्म बैंक अफ इङ्ग्ल्यान्डमा आबद्ध रहे । ब्रेक्जिटको समयमा उनले लिएका आर्थिक निर्णयहरूले उनलाई बेलायतमा समेत चर्चित बनायो । १६ मार्च १९६५ मा फोर्ट स्मिथ, क्यानडामा जन्मिएका मार्क कार्नीले हार्वर्ड युनिभर्सिटीबाट सन् १९९८ मा अर्थशास्त्रमा स्नातक तह उत्तीर्ण गरेका थिए ।

गत वर्ष जुलाईमा एक सर्वेक्षणमा जस्टिन ट्रुडोको उत्तराधिकारीका रूपमा सम्भावित उम्मेदवारहरूको सूची बनाइएको थियो । त्यसबेला २,००० उत्तरदातामध्ये केवल ७ प्रतिशतले मात्र मार्क कार्नीलाई चिनेका थिए । तर, जनवरीमा ट्रुडोले राजीनामा घोषणा गरेपछि उनले आफूलाई लिबरल पार्टीको प्रमुख उम्मेदवारका रूपमा प्रस्तुत गरे । यसपछि उनले पार्टीका कैयौं सांसद र मन्त्रीहरूको समर्थन पाए, जसले उनको दाबेदारीलाई बलियो बनायो । पछिल्लो मेनस्ट्रीट सर्वेक्षणअनुसार कार्नीलाई ४३ प्रतिशत मतदाताको समर्थन छ, भने पूर्व अर्थमन्त्री क्रिस्टिया फ्रील्यान्डलाई ३१ प्रतिशतको । तर, कार्नी कति समयसम्म प्रधानमन्त्री रहनेछन् भनेर यकिन गर्न गाह्रो छ । किन भने क्यानडामा अझै पनि मतगणना भइरहेको छ ।

क्यानडाको राष्ट्रिय सञ्चारमाध्यम सीबीसीले बहुमतको सरकार वा अल्पमतको भनेर पुष्टि गर्न अझै केही घण्टा लाग्न सक्ने जनाएको छ । यदि लिबरलहरुले १७२ सिटको थ्रेसहोल्ड पार गरे भने उनीहरुको बहुमतको सरकार बन्नेछ । यसले उनीहरुलाई बलियो जनादेश दिनेछ भने कानुन पारित गर्न संसदमा अन्य दलहरुको भर पर्नु पर्ने अवस्था हुने छैन । १७२ भन्दा कम सिट मात्रै जित्न सकेको अवस्थामा भने सरकारको नेतृत्व गर्न लिबरल पार्टीलाई अन्य दलहरुको पनि समर्थन चाहिने छ । जुन सन् २०२१ मा जस्टिन ट्रुडोको नेतृत्वमा सरकार बनाउँदा गर्नु परेको थियो । पछिल्लो अवस्थालाई हेर्ने हो भने लिबर पार्टीले १६८ सिट जित्न सक्ने अनुमान गरिएको छ । जसले बहुमतको सरकार बनाउन उनीहरुलाई थप चार सिट आवश्यक पर्नेछ ।
०००