नेपालमा राजनीतिक धरातल खस्किँदै गएका पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईंको भारत भ्रमणसँगै त्यहाँ उनले पाएको महत्वले चासो बढाएको छ । भारत भ्रमणका क्रममा उच्च व्यक्तित्वसँगको भेटभाटसँगै उनको राजनीतिक गतिविधिले चर्चा बटुलेको छ ।
प्रधानमन्त्री बनेको १० महिना हुनै लाग्दा पनि औपचारिक रूपमा भारत भ्रमणको निम्तो नपाएका केपी शर्मा ओलीसँग भारतको सम्बन्ध त्यति सुमधुर हुन सकेको छैन । भारतको इच्छाविपरीत सरकारको नेतृत्व गरिरहेका ओलीसँग भारतको सम्बन्ध तिक्ततापूर्ण रहेको भाष्यका बीच पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईंको भ्रमणले महत्व पाएको छ । सुरुदेखि नै ओलीको कटु आलोचकको रुपमा देखिएका भट्टराईलाई भारतले दिएको प्राथमिकतालाई अस्वाभाविक रुपमा हेरिएको छ ।
प्रगतिशील नेपाली समाज समिति, भारतको अधिवेशन उद्घाटनका निम्ति दिल्ली पुगेका डा. भट्टराईले भारतको सत्तारुढ दल भाजपाका वरिष्ठ नेता तथा रक्षा मन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् । त्यस्तै भारतीय जनता पार्टीका पूर्वअध्यक्ष डा.मुरली मनोहर जोशी, भारतीय कांग्रेसका वरिष्ठ नेता, सांसद एवं पूर्वमन्त्री जयराम रमेश, जनता दलका केसी त्यागी, बहुजन समाज पार्टीका सुधीन्द्र भदौरियासँग भट्टराईले भेटघाट गरेका छन् । त्यस्तै नेपालका लागि चार पूर्वभारतीय राजदूत रञ्जित रे, मञ्जिव सिंह पुरी, श्यामशरण र राकेश सुदलाई पनि एकसाथ भेटेका छन् । भेटमा नेपाल–भारतबीचको सम्बन्धलाई बलियो बनाउने विषयमा कुराकानी भएको डा.भट्टराईंले बताएका छन् ।
हालै कश्मीरको पहलगाममा निहत्था पर्यटकमाथि भएको आतङ्कवादी हमलाको घोर निन्दा गरेका भट्टराईले गहिरो दुःख व्यक्त गर्दै आफू भारतका जनता र सरकारको साथमा रहेको बताए । संवैधानिक समितिको अध्यक्ष भएर नयाँ संविधान निर्माणमा भूमिका खेलेको बताएका भट्टराईले संविधानसभाबाट नयाँ संविधान बनाए पनि शासनमा कमजोरी र निर्वाचन प्रणालीमा देखिएको त्रुटीले नेपालमा लगातार राजनीतिक अस्थिरता निम्त्याएको टिप्पणी गरे । पूर्वराजालाई नै भारतको एउटा तप्काले सहयोग गरिरहेको प्रसङ्गका बीच भारत भ्रमण गरेका डा.भट्टराईंले हरेक उच्चस्तरीय भेटमा नेपालमा भइरहेको राजवादीहरूको आन्दोलन लोकतन्त्र विरोधी नभई प्रधानमन्त्री ओलीविरुद्ध रहेको बताएका थिए । नेताहरूसँग असन्तुष्ट बढेको भए पनि व्यवस्थाको विकल्प नखोजेको भन्दै भट्टराईले नेपालमा राजतन्त्र फर्काउने विषयमा आफ्नो उद्देश्य स्पष्ट पारेका छन् ।
नेपालका सङ्घीय मन्त्रीहरूलाई नै बेवास्ता गरिरहेको अवस्थामा एउटा सानो पार्टीका अध्यक्षलाई भारतीय नेताहरुले दिएको राजनीतिक महत्वले उनको भ्रमणलाई सबैले चासोका साथ हेरिरहेका छन् । विद्यार्थी जीवन हुँदै जनयुद्धकालमा भारतलाई नै आफ्नो अड्डा बनाएका भट्टराई भारतकै बलमा अर्थमन्त्री र प्रधानमन्त्री बनेको आरोप छ । भारतमै पढेका र भारतले नै हुर्काएको भन्दै भारतलाई आफ्नो दोस्रो घर बनाएका भट्टराई पहिलेदेखि नै भारत निकट मानिन्छन् । नेपालमा सानो दल भएका कारण उनको त्यति ठूलो राजनीतिक हैसियत छैन । त्यसैले व्यक्तिगत रुपमा भट्टराईले सत्ताका लागि तत्काल केही प्राप्त गर्ने अवस्था छैन । तर, सुरु देखि नै ओलीको कार्यशैलीको आलोचना गर्दै आएका उनले भारत विरोधी छवि बनाएका प्रधानमन्त्री ओलीको विरोध गर्दा घ्यु थप्ने काम भने गरेका छन् । सरकारमा रहेका ओली र शेरबहादुर देउवाले भारत रिझाउन गरिरहेको अनेक सूत्रहरु असफल भइरहँदा बाबुराम भट्टराईले उनीहरूविरुद्ध चालेको तिकडम र पकाएको खिचडीलाई अर्थपूर्ण रूपमा लिन सकिन्छ ।
प्रतिक्रिया