समाचार

एमबीबीएसको सिट संख्या बढाउन मिल्दैन : गोविन्द केसी


काठमाडौं—चिकित्सा क्षेत्र सुधारका लागि पटकपटक अनसन बसेका अभियन्ता प्रा. डा. गोविन्द केसीले एमबीबीएस, बीडीएसको सिट संख्या बढाउने प्रक्रिया अगाडि बढाएकोमा असन्तुष्टि जनाएका छन् । आफूले उठाउँदै आएका माग तत्काल पूरा गर्न सरकार तयार नभए सत्याग्रहमा बस्ने उनले चेतावनी दिएका छ ।

मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले सरकारले एमबीबीएसको सिट एक सयबाट बढाउने प्रक्रिया अघि बढाउनु गलत भएको बताएका हुन् ।

हाल एमबीबीएस पढाउन मेडिकल कलेजले एक सय सिट पाउँदै आएका छन् । आयोगको १८ औं बैठकमा शुल्क र सिट परिमार्जनका लागि शिक्षासचिव डा. दीपक काफ्लेको संयोजकत्व ११ सदस्यीय कार्यदल गठन भएको थियो ।

सिटका विषयमा भने शिक्षासचिव डा. काफ्लेको संयोजकको कार्यदलले हाल कायम रहेको एक सय सिटको सिलिङ हटाउँदै थप गर्न सकिने सुझाव दिएको छ । कार्यदलले दिएको सुझावका आधारमा अब एमबीबीएस र बीडीएसको सिट संख्या बढ्ने बाटो पनि खुला भएको छ ।

डा. केसी म्यानमारका भूकम्पपीडितहरूको सेवा गरेर नेपाल फकिँदैछन् । पटकपटकको दबाबमा चिकित्सा शिक्षा ऐन लागू भएसँगै चिकित्सा शिक्षा आयोग गठन भएको उनले बताएका छन् ।

प्रधानमन्त्री, मन्त्रीहरू, सांसद, अन्य नेता÷नेत्री, कार्यकर्ता, न्यायाधीश, माफियाहरू लगायत विभिन्न स्वार्थपरक समूहको बारम्बार गैरकानुनी हस्तक्षेपका बाबजुद आयोगका पदाधिकारीहरूले सन्तोषजनक काम भइरहेको उनको भनाइ छ ।