काठमाडौं—भारतको विदेश मन्त्रालयको औपचारिक निम्तोमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको नेतृत्वमा १० सदस्यीय टोली आज भारत प्रस्थान गरेको छ । नेपालका मुख्यमन्त्रीलाई भारतले सिधै भ्रमणमा निम्त्याएको सम्भवत पहिलोपटक हो ।
मुख्यमन्त्री नेतृत्वको भ्रमण टोलीमा प्रदेशका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री वीरबहादुर थापा, नागरिक उन्मुक्ति पार्टीका संसदीय दलका नेता घनश्याम चौधरी, नेकपा (एकीकृत समाजवादी) पार्टीका प्रमुख सचेतक नरेशकुमार शाहीसमेत छन् ।
यसैगरी नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य झपटबहादुर साउँद, नीति तथा योजना आयोगका सदस्य शेरबहादुर भण्डारी, प्रदेशका मुख्य सचिव डा. कमलप्रसाद पोखरेल, भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सुरतकुमार बम, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डा. जितु उपाध्याय र स्वकीय सचिव रामबहादुर विष्ट पनि भारत लागेका छन् ।
दिउँसो १२ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतको राजधानी नयाँदिल्ली प्रस्थान गर्नु पहिले मुख्यमन्त्री शाहले आफ्नो भ्रमणले दुई देशको सम्बन्धलाई अझै प्रगाढ बनाउने विश्वास लिएको बताए ।
प्रतिक्रिया