राजतन्त्र र हिन्दु राज्य पुनस्र्थापनाको माग गरिरहेका राजावादीहरु फेरि एकढिक्का हुन थालेका छन् । विभिन्न कालखण्डमा तितरवितर भएका उनीहरु सोमबार एउटै मञ्चमा देखिए । यतिसम्म कि विभाजित राप्रपाका शीर्ष दुई नेता राजेन्द्र लिङ्देन र कमल थापा नै विगतका तुष बिर्सिंदै अंकमाल गर्न पुगे । जसले राजावादीहरु एक भएको सन्देश गएको छ ।
सरकारको चौतर्फी दवाव, गणतन्त्रवादीहरुको एक स्वर र धमाधम आफ्ना नेता कार्यकर्ताहरु पक्राउ परेपछि तितरवितर बनेका राजावादीहरुले एउटै मञ्चमा उभिएर एक ढिक्का भएको सन्देश दिएका छन् ।सोमबार कमल थापा नेतृत्वको राप्रपा नेपालले आयोजना गरेको सभामा राजावादी समूहका शीर्ष नेताहरू एकै ठाउँमा जम्मा हुँदाराजावादीहरुमा उत्साह छाएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट फुटेर बनेको राप्रपा नेपालका अध्यक्ष कमल थापा र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन झन्डै चार वर्षछि एउटै मञ्चमा उभिए ।
विगतको पार्टी विभाजनको तुषलाई बिर्सिंदै कमल थापा नेतृत्वको राप्रपा नेपालको कार्यक्रममा सहभागी भएका राप्रपा अध्यक्ष लिङ्देनले श्रद्धेय दाइ भन्दै थापालाई सम्बोधन मात्र गरेनन् कि अंकमाल नै गरेर सम्बन्ध सौहार्दपूर्ण रहेको सन्देश दिन खाजे । कार्यक्रममा राजसंस्था पुनःस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी र राष्ट्रिय शक्तिका केशरबहादुर विष्ट पनि सहभागी थिए ।
शान्तिबाटिकामा आयोजित सभामा २४ दिन हिरासतमा बसेर उपचारका लागि हाजिरी जमानीमा छुटेका राप्रपाका सांसद धवलशमशेर राणा पनि सहभागी भए । उनी भारतबाट उपचार पछि सिधैँ कार्यक्रम स्थलमा पुगेका थिए । कार्यक्रममा राप्रपाका महामन्त्री कुन्ती शाही, राजसंस्था पुनस्र्थापनाका लागि जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, पञ्चायतकालीन नेता केशरबहादुर विष्ट लगायतसहभागी थिए ।
यसले विभिन्न कालखण्डमा तितरवितर भएका राजावादीहरु एक ढिक्का भएको सन्देश प्रवाह गरेको छ । उनीहरु सबैले अब एक भएर अघि बढ्ने संकल्पसमेत गरेका छन् । कार्यक्रममा सहभागीहरुले अबदेशमा राजा आउनुको विकल्प नभएको जिकिर गरे । उनीहरुले यो देश बनाउने मियोको रुपमा अब राजा मात्र अन्तिम विकल्प भएको तर्क गरेका छन् ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापना तथा संघीयता खारेजीका लागि गरिने सबै प्रकारका कार्यक्रमहरूमा पार्टीको ऐक्यबद्धता रहने जनाए । आफ्ना मान्यताहरू स्थापनाका लागि हुने सबै प्रकारको शान्तिपूर्ण कार्यक्रममा साथमा रहने वचनसमेत दिए । यसक्रममा उनले राप्रपा नेपालले आयोजना गरेको कार्यक्रम भन्दै आफूबाट फुटेर बनेको कमल थापाको राप्रपा नेपाललाई राजनीतिक मान्यता नै दिन भ्याए । साथै कमल थापालाई श्रद्धेय दाइ भन्दै सम्बोधन गरेका लिङ्देनले सबै राजावादी शक्तिहरु एकजुट हुनुपर्ने र लोकतन्त्र नामको लुटतन्त्रविरुद्ध जुट्न सबैलाई आग्रह गरे ।
थुनामा रहेका पार्टीका नेताहरूको रिहाइ र चैत १५ को घटनाको न्यायिक छानबिनका लागि सशक्त दबाब सिर्जना गर्न लिङ्देनले आह्वान गरे । यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था पुनस्र्थापनाको माहोल बनिरहेको भन्दै एकढिक्का हुन नेताहरुलाई आह्वान गरेका छन् । अब ‘अन्तिम धक्का’ आवश्यक रहेको भन्दै उनले केही समयका लागि मात्र भए पनि एकढिक्का हुन राजसंस्था पुनस्र्थापनाको पक्षमा भएका नेताहरुलाई आह्वान गरे ।
राजसंस्था पुनःस्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीले राजसंस्था पुनःस्थापना गर्न चाहने शक्तिहरु एकजुट भएको दाबी गरे । टुटफुटको अवस्थामा रहेका राजावादीहरु आवश्यक पर्दा एकजुट भएर लाग्ने गरेको उल्लेख गर्दै उनले देशका लागि आवश्यक नभएकाले संघीयता खारेज गर्नुपर्ने बताए ।
गणतन्त्रवादीहरु एक भएर राजावादीविरुद्ध जाइलाग्दा राजावादी दल र संस्थाहरु पनि फेरि जुर्मुराउन थालेका छन् । आ–आफ्नै तरिकाले विभिन्न समयमा आन्दोलन गरेका राजावादीहरुले ठूलो जनसमर्थन जुटाउन नसक्दा एक हुनुको विकल्प नभएको निष्कर्षमा पुगेका हुन् । चैत १५ गतेको आन्दोलनपछि पक्राउ गरिएका नेता कार्यकर्ताको रिहाइलाई मुख्य मुद्दा बनाएर सोमबार राप्रपा नेपालले रत्नपार्कमा विरोध सभा आयोजना गरेको हो। कार्यक्रममा राप्रपा नेपालले सबै राजावादी दल र संघ–संगठनलाई निम्त्याएको थियो । कमल थापाको निम्तो स्वीकार्दै पहिलोपटक लिङ्देन राप्रपा नेपालको कार्यक्रममा पुगेका हुन् । चारतिर तितरवितर भएकाराजावादीका चारै समूह एउटै मञ्चमा जुट्ने अवसर राप्रपा नेपालले बनाएको हो । नेताहरु मञ्चमा एकजुट देखिए पनि समर्थक र कार्यकताहरुको उपस्थिति भने न्यून रहेको थियो ।
प्रतिक्रिया