प्रतिनिधिसभाको छैटौं अधिवेशनको तेस्रो बैठकमा सांसदहरुले आन्दोलनरत शिक्षकका माग सम्बोधनका लागि सरकारलाई गम्भीर बन्न आग्रह गरेका छन् । अन्य विभिन्न विषयमा बालेका सांसदहरुले शिक्षक आन्दोलनलाई भने प्रमुखताका साथ उठाएका हुन् ।
सोमबार बसेको प्रतिनिधिसभा बैठक शिक्षक आन्दोलनमय बन्यो । प्रतिपक्षीका साथै सत्तारुढ दलकै सांसदहरुले शिक्षकहरूको आन्दोलनप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । सदनमा बोल्ने अधिकांश सांसदहरूले शिक्षक आन्दोलन र उनीहरुका माग सम्बोधनका विषयमा धारणा राख्दै सरकारले देखाएको रवैयाको निन्दा गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले राज्य अधिनायकवादतर्फ हिँडिरहेको बताउँदै सरकार बहुमतको अत्याचारतिर त गइरहेको छैन ? भनेर प्रश्न गरिन् ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं सांसद् वर्षमान पुनले पनि शिक्षक आन्दोलन समाधान गर्नुको साटो सरकार दमनमा उत्रिएको आरोप लगाए । आन्दोलनरत शिक्षक र प्रहरीबीच भएको झडपमा सरकारले बल प्रयोग गर्दा पेलेरै जान खोजेको देखिएको भन्दै आपत्ति जनाए । माओवादी सांसद जनार्दन शर्माले पनि शिक्षक आन्दोलनमा सरकारले दमन गरेको भन्दै भत्र्सना गरे । उनले शिक्षकका माग सम्बोधन गर्नुको सट्टा सरकारले दमन गरिरहेको आरोप लगाए । पुराना ऐन–कानुनका कारण सङ्घीय लोकतान्त्रिक गणतन्त्र कार्यान्वयनमा बाधा पुगेको उल्लेख गर्दै शिक्षकका जायज माग तत्काल सम्बोधन गर्न उनले सरकारको ध्यानाकर्षण गराए ।
सत्तारुढ दल नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले संसदमा विचाराधीन नागरिक उड्डयन प्राधिकरणसम्बन्धी विधेयकमा १२ बुँदे सुझाव दिएका छन् । बजगाईंले नागरिक उड्डयन मन्त्रालयको नेतृत्व शैली र प्रस्तावित विधेयकको खाकामा विषयमा चासो व्यक्त गरे। त्यस्तै कांग्रेस सांसद प्रतिमा गौतमले कांग्रेस सहमहामन्त्रीका छोरा रक्सी चोरीमा संलग्न रहेको आरोपको खण्डन गरेकी छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले लगाएको आरोपको खण्डन गर्दै उक्त विषय प्रमाणित गर्न उनले चुनौती दिइन् ।
प्रतिनिधिसभा बैठकमा ‘नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९÷८० र २०८०÷८१’ पेस गरियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण, २०८०’ माथि विचार गरियोस् भनेर पेस गरेको प्रस्तावमा सैद्धान्तिक छलफल भएको छ । नेपाली काँग्रेसका सांसद राजेन्द्रकुमार केसीले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) र युरोपेली युनियन (ईयु)ले नेपाली आकाशलाई कालोसूचीमा राखेको बताउँदै अन्तर्राष्ट्रिय जगतलाई नेपालको सेवा विश्वसनीय र भरपर्दो रहेको सन्देश दिनुपर्नेमा जोड दिए ।
यस्तै नेकपा (एमाले) का सांसद एकनाथ ढकालले बलियो नियामक निकायको अभावले हवाई दुर्घटना दोहोरिएको भन्दै उठाइने चासोलाई विधेयकले सम्बोधन गर्ने अपेक्षा राखे । उनले विधेयकलाई आवश्यकताअनुसार थप परिष्कृत र परिमार्जन गरी अगाडि बढाउनु उपयुक्त हुने जिकिर गरे । छलफलमा सांसदहरूले उठाएका प्रश्नको मन्त्री पाण्डेले जवाफ दिएपछि स्वीकृत हुनका लागि विधेयकमाथि ७२ घण्टाभित्र संशोधन प्रस्ताव मागिएको छ । कार्यसूचीको चौथो नम्बरमा रहेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने र पारित गरियोस् भन्ने दुई विषय हटाएर बैठक स्थगित गरिएको छ । मंगलबार बिहान ११ बजे बस्ने गरी प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
प्रतिक्रिया