राजनीति

प्रतिनिधिसभा बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित


काठमाडौं—प्रतिनिधिसभा बैठक सोमबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । प्रतिनिधिसभाको आइतबारको बैठकमा आकस्मिक, शून्य र विशेष समयमा सांसदहरूले आफ्ना धारणा राखे । त्यस्तै बैठकमा प्रतिनिधिसभा अन्तर्गतका अर्थ र कानुन न्याय तथा मानवअधिकार समितिका सभापतिले आज सदनमा प्रतिवेदन प्रस्तुत गरे ।

अर्थ समिति सभापति सन्तोष चालिसेले ‘भन्सार विधेयक सम्बन्धी समितिको प्रतिवेदन,२०८१’ पेस गरे । त्यस्तै कानुन न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदीले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१’ प्रस्तुत गरिन् ।

बैठकमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले नेपाल हवाइ सेवा प्राधिकरण विधेयक २०८१, कानुन न्याय तथा संसदीय व्यवस्थामन्त्री अजय चौरासियाले नेपाल कानुन व्यवसायी परिषद् दोस्रो संशोधन विधेयक २०८१ तथा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बैङ्किङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक २०८० प्रस्तुत गरे ।