Breaking

सरकारलाई बजेट बनाउँदा यी कुरा ध्यान दिन रास्वपाको आग्रह


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यबाहक सभापति तथा प्रतिनिधिसभा सदस्य डीपी अर्यालले शिक्षा, स्वास्थ्य, रोजगारी सिर्जना, विकास निर्माण र सुशासनलाई आधार बनाएर बजेट ल्याउन सरकारलाई सुझाव दिएका छन् ।

आजबाट सुरु बजेट अधिवेशनअन्तर्गत प्रतिनिधिसभामा शुक्रबारको बैठकमा बोल्दै अर्यालले सरकारलाई बजेट निर्माणमा विभिन्न सुझाव दिएका हुन् ।

‘शिक्षा, स्वास्थ्यमा अधिक बजेट खर्च हुन्छ, रोजगारी सिर्जना, विकास निर्माण र सुशासनले सबैभन्दा बढी सार्वजनिक आकर्षण तय गर्छ । यी पाँच कुरालाई आधार बनाएर बजेट बनाउन सरकारलाई सुझाव दिन्छु,’ उनले भने, ‘नीति तथा बजेटले उत्पादन वृद्धि, कृषिमा आधुनिकीकरण, उद्योग र लगानी प्रवर्द्धन, सामाजिक न्याय र समावेशीताजस्ता क्षेत्रलाई पनि समेट्नुपर्छ ।’

कुशासनकै कारण बजेटको आकार बढाउन सकिने अवस्था नरहेको भन्दै उनले बजेट विनियोजनमा देखिँदै आएको विकृति रोकिनु पर्ने बताए ।