Breaking

भाटभटेनीको लुटपाटमा कांग्रेस सहमहामन्त्रीकै छोरा पनि थिए, तुरुन्तै छाडियो : लिङ्देन

योहो संवाददाता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनको घटनामा सत्तारुढ दल नेपाली कांग्रेसका सहमहामन्त्रीकै छोरा पनि पक्राउ परेको दाबी गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा पार्टीको तर्फबाट सम्बोधन गर्ने क्रममा अध्यक्ष लिङ्देनले भाटभटेनी सुपरमार्केटमा भएको लुटपाटमा सहमहामन्त्रीका छोरा पक्राउ परेको र प्रहरीले तुरुन्तै छाडिदिएको जिकिर गरे ।

लिङ्देनले आफूसँग सो विषयको रेकर्ड समेत भएको जिकिर गरे ।

‘हामीसँग रेकर्ड छ, गृहमन्त्रीज्यू । भाटभटेनीको लुटपाटमा तपाईंकै पार्टीको सहमहामन्त्रीको छोरा पक्राउ परेका छन्,’ उनले भने, ‘किन छाड्नुभयो तुरुन्तै ?’

पक्राउ परेका सहमहामन्त्रीका छोराको नाम भने उनले खुलाएनन् ।

सहमहामन्त्रीका छोरासँगै गएका अर्का व्यक्तिले भाटभटेनीबाट कपडा लिएर गएको पनि उनले बताएका छन् । ती कपडा लिएर जाने व्यक्तिले कुरा खोलिदिने भनेर धम्क्याएपछि उनलाई पनि दुई घण्टामा नै प्रहरीले छाडेको लिङ्देनेको दाबी छ ।