Breaking

चिकित्सकलाई सरकारी आठौँ तहको तलब दिन स्वास्थ्यमन्त्रीको निर्देशन


काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले आवासीय चिकित्सकलाई सरकारी आठौँ तहको तलब सुविधा दिने चिकित्सा शिक्षा आयोगको निर्णय तत्काल कार्यान्वयन गर्न निजी मेडिकल कलेजलाई निर्देशन दिएका छन् ।

बिहीबार नेपाल चिकित्सक संघ र आवासीय चिकित्सकका प्रतिनिधिबीच मन्त्रालयमा भएको वार्तामा मन्त्री पौडेलले आवासीय चिकित्सकको सुविधा मासिक ४८ हजार ७०० रुपैयाँ कायम गर्ने निर्णय कार्यान्वयन गर्न निर्देशन दिएका हुन् ।

गत माघ २५ गते बसेको चिकित्सा शिक्षा आयोगको बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह (आठौँ तह)को निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो । तर, निजी मेडिकल कलेजले आयोगको निर्णय कार्यान्वयन नगरेको भन्दै आवासीय चिकित्सक आन्दोलित भएका हुन् ।

मन्त्री पौडेलले चिकित्सा शिक्षा आयोगले दिएको निर्देशन कार्यान्वयन नगरेसम्म निजी मेडिकल कलेजलाई सरकारले दिने कुनै पनि सुविधा उपलब्ध नगराउने बताए । मन्त्री पौडेलले आन्दोलन फिर्ता लिएर मुलुकको उपचारात्मक प्रणालीमा सहयोग गर्न समेत चिकित्सकलाई आग्रह पनि गरेका छन् ।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्कीले नेपालमा अध्ययनरत आवासीय चिकित्सकलाई हप्तामा बढीमा ७२ घण्टामात्रै काम गर्न लगाउन भनी मेडिकल कलेजको नाममा सर्कुलर जारी गर्न पनि आग्रह गरे ।