पूर्वराजा ज्ञानेन्द्र शाहलाई राजगद्दीमा फर्काउने भनेर बुर्कुसी मारेका राजावादीहरु करिब एक महिनाकै अवधिमा सुस्ताएका छन् । हिंसात्मक बनेको तीनकुने घटनामा जनधनको क्षति भएपछि उनीहरुमाथि सरकारले दबाबबढाउँदा राजा फर्काउने आन्दोलन नै तुहिने अवस्थामा पुगेको छ ।
हात्ती तर्साउन नाङ्लो ठटाउने, बुहारी तर्साउन छोरी कुट्ने भने झै सरकारले पूर्वराजा तर्साउन दुर्गा प्रसाईं र रवीन्द्र मिश्रलाई हिरासतमा तड्पाउने नीति लिएको देखिन्छ ।देशमा बढ्दो चरम निराशा र आक्रोशलाई मध्यनजर गरेर निर्मल निवासबाट निस्कन खुट्टा झिकेका पूर्वराजा ज्ञानेन्द्र शाहको पहिलो पाइलामै ठेस लागेको छ । भुटान भारतको भ्रमणपछि हौसिएरश्रीपेच पहिरिने सपना बुन्दा उनको सपना बिचमै अलपत्र पर्ने अवस्था आएको छ ।
पूर्व राजा शाहको अपरिपक्वता र कसैले उक्साएकै भर लहै लहैमा लाग्दा दुर्गा प्रसाईं र रवीन्द्र मिश्र लगायतमाथि राज्यले संगठित अपराध र राज्यविरुद्धको कसुरमा मुद्दा चलाउने तयारी थालेको छ ।तीनकुने घटना पश्चात पूर्वराजा शाहले निर्मल निवासमा बोलाएर राप्रपाका नेताहरुसँग लन्च मिटिङ गरे ।
त्यसको भोलिपल्ट आइतबार राप्रपाले निषेधित क्षेत्र तोड्ने उद्घोष गर्दै आन्दोलन गरे पनि प्रदर्शनकारीको न्यून उपस्थिति देखिँदा आन्दोलन नै तमासा बन्न पुग्यो । बरु निषेधित क्षेत्र तोड्ने घोषणा गरेका राप्रपा नेताले सिंहदरबार भित्रै नाराबाजी गरे प्रहरीलाई चक्मा दिए भने अध्यक्ष राजेन्द्र लिङ्देन, ज्ञानेन्द्र शाहीसहित सात जना पक्राउ परेका थिए । दिनभर उनीहरुलाई थुनेर साँझ प्रहरीले छाडिदिएको थियो ।
पूर्वराजा शाहले पछिल्लो समय ज–जसलाई नेतृत्वको जिम्मा दिन्छन् सबै एकपछि अर्को गर्दै थुनिनु परेको छ । आइतबारको आन्दोलनमा थोरै संख्यामा प्रदर्शनकारी देखिनुलाई कतिपयले नागरिकको साथ राप्रपाले गुमाउँदै गएको रुपमा विश्लेषण गरे पनि राप्रपा नेताहरु भने आफूहरुको आन्दोलन नरोकिने हाँक दिइरहेका छन् ।
धमिलो पानीमा माछा मार्न खोजेका पूर्व राजा ज्ञानेन्द्र एकपछि अर्को योजनामाअसफलसिद्ध भएका छन् । उनले चालेका हरेक कदम उनकै लागि धरापबनिरहेका छन् । चैत १५ को तीनकुने घटनादेखि बैशाख ७ गतेको बानेश्वर आन्दोलनसम्म आउँदा पूर्वराजाको पक्षमा जनसागर बढ्ने भन्दा झनझन कम हुँदै गएको छ । जसले कमजोर घोडामा सवार गरेर राजगद्दी चढ्ने पूर्वराजाको दिवा सपना जस्तो मात्र बन्दै गएको पुष्टि हुन्छ ।
तर राजालाई बोकेर दरबार छिराउने भन्ने राप्रपाका नेताहरु भने जसरी पनि यो व्यवस्था ढालेर राजतन्त्र पुनर्वहली गर्ने अड्डी कसिरहेका छन् ।
सरकारले संविधान विरोधी गतिविधि गर्ने जो कोहीलाई कानुनी दायरामा ल्याउने बताउँदै आएको छ । फलतः धमाधम राजावादीहरुलाई पक्राउ गर्दै विभिन्न मुद्दाको तयारी सरकारले थालेको देखिन्छ । राप्रपाका सांसद धवल शमशेर जबरा बिरामी भएका कारण हाजिरी जमानीमा छुटे पनि रवीन्द्र मिश्रलाई भने हिरासतमै राखेर मुुद्दाको तयारी थालिएको छ । सोमबार मिश्रसहितलाई म्याद थपका निम्ति प्रहरीले तेस्रोपटक अदालत पेस गरेको छ ।यसअघि दुईपटक थप गरिएको म्याद सकिएपछि मिश्र, दुर्गा प्रसाईं लगायतलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको हो ।मिश्रसहित प्रसाईंलाई राज्यविरुद्धको कसुर र संगठित अपराधमा मुद्दा चलाउने तयारी छ ।
संगठित अपराधको मुद्दाका लागि प्रहरीले ६० दिन थुनामा राखेर अनुसन्धान गर्न पाउने कानुनी व्यवस्था छ । जसका कारण अझै मिश्र र प्रसार्इं प्रहरी हिरासतमा हुने पक्का छ । जतिजति पूर्व राजा सक्रिय हुन्छन् त्यतित्यति गणतन्त्रवादी नेताहरु एउटै कित्तामा उभिइँदै गएका छन् । निर्मल निवासको सक्रियताविरुद्ध देशको प्रमुख तीन दलका शीर्ष तीन नेताहरु केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल प्रचण्ड एक ठाउँमा उभिसकेका छन् । त्यसैले गणतन्त्रवादीहरु पूर्वराजा ज्ञानेन्द्र फर्किने भन्ने दिवा सपना मात्र भएको दाबी गर्छन् ।
सरकारले राजावाहीहरुमाथि निगरानी र दवाब बढाउँदा उनीहरु आफँै सुस्ताएका देखिन्छन् । निर्मल निवासदेखि राजावादीहरुका समूहहरु नै अलमल र अलपत्र पर्न थालेका छन् । यता राजसंस्था फर्काउन गठन भएको संयुक्त जनआन्दोलनका संयोजक तोकिएका नवराज सुवेदी नजरबन्दमा परेसंगै जगमान गुरुङ र स्वागत नेपाल पनि तर्सिएर दुलो भित्र पसेका छन् । राप्रपाको आन्दोलनमा राजावादीहरुले समर्थन जनाए पनि उनीहरु सडकमा आएनन् । पूर्वराजाको समर्थकहरु नै सडकमा आउन छोडे पछि राजावादीहरुले कसरी राजा फर्काउछन् त्यो भने उनीहरु नै जानुन् ।।
प्रतिक्रिया