बोलीकै कारण स्थापित प्रधानमन्त्री केपी शर्मा ओली बोलीकै कारण समस्यामा पर्नथालेका छन् । जहाँ बेलगाम शब्द र पदअनुसारको बोली नहुँदा उनकै नेता र सत्ता सहयात्रीलाई समेत बचाउ गर्न हम्मेहम्मे छ । जसले प्रधानमन्त्री पदको ओज र सरकारको विश्वसनीयतामाथि नै प्रश्न उठाँउदा कस्ता छन् त ओलीको बोलीले बिगारेका घटनाक्रमहरु ?एक रिपोर्ट…
‘पाँच जना आएको भए भइहाल्थ्यो, तेत्रा मान्छे आएर घरी जादु देखाको छ, घरी नाचेको छ, घरी सुतेको छ । ऐन हामी ल्याउँछौ । ऐन ल्याएर जान्छुम् भन्नुभा छ । ऐन बोक्न यत्रो विघ्न मान्छे चाहिन्छ ?’
यसो भनेर नमिठो जवाफ फर्काउने व्यक्तिहुन् यो देशका प्रधानमन्त्री केपी शर्मा ओली । यी तिनै व्यक्ति हुन् जसलाई प्रतिपक्षमा हुञ्जेल गुरुहरुको चौपट्टै माया लागेको थियो । यही कारण शिक्षकहरु झुटो हुँदैनन् भनेर तत्कालीन सरकारमाथि दवाब बढाएका उनी सत्तामा पुगेपछि बोली फेरिएको छ ।
प्रधानमन्त्री भएर सौम्य सभ्य हुने र निकास खोज्ने भन्दा मान्छे उद्धेलित पार्ने काम ओलीको नशामै छ । जसलाई शिक्षक आन्दोलनप्रति उनको बुझाइले प्रष्ट पार्दा उनकै कारण शिक्षामन्त्री विद्या भट्टराई राजीमाना दिन बाध्य भइन् । ऐन नबने राजीनामा दिने उद्घोषसहित शिक्षकका पक्षमा देखिएकी भट्टराई प्रधानमन्त्री ओलीले नै असहयोग गरेपछि राजीनामा दिन बाध्य भइन् । सायद आफ्ना शिक्षक नेतालाई भेटेर धम्काएका ओली पेलेरै जाने अवस्थामा थिए । तर त्यसो हुन नसक्दा शिक्षामन्त्री त्यसको मारमा परिन् । अहिले ओली यही राजीनामाको विषयमा प्रष्टीकरण दिँदै हिँड्न बाध्य छन् ।
ओलीको बोलीले माहोल भड्किएको यो नै पहिलो पटक भने होइन । तीनकुने घटनामा सरकारमाथि प्रश्न उठ्नुको एउटा कारण ओलीकै घमण्ड थियो । ५–१० हजारको झिनो जुलुस भन्दै हियाउने उनको बोलीले सुरक्षा तयारी र सरकारको बुझाइमा पारेको प्रभावलाई यो घटनाको एक कारण मानिँदा प्रधानमन्त्रीको प्रष्ष्ठिा र ओजमाथि नै यस्ता बोलीले प्रश्न उठाँउदै आएको छ । आफू प्रधानमन्त्री नभई सर्वज्ञाता ठान्ने उनको घमण्डले छिमेकीसँगको सम्बन्धमासमेत दरार आउँदा प्रमुख सत्ता घटककांग्रेस पनि यसबाट पिरोलिँदै आएको छ ।
अर्थात भारतका प्रधानमन्त्री भेट्दा एकखाले र काठमाडौँ उत्रिदा मुखाले ओलीको बानीले छिमेकीले विश्वास गर्ने अवस्था छैन । अर्कातर्फ रामजन्मभूमि नेपाल भएको दाबी गर्ने विषय होस् या कुनै मुद्दा उचालेर छोडिदिने अवस्था होस् यो ओलीको बानी नै हो । जहाँ अब ओली सुध्रिनुपर्ने भन्दै नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल जस्ताले सुझाव दिदाँसमेत अध्यक्षको नजिक हुने लालसमा एमाले नेताहरु भने ओलीलाई नै उचालिरहेका छन् । फलतः ओली सच्चिनेभन्दा सक्किने बाटामै देखिँदामाओवादीले यसलाई सक्किने बेलाको कुकृत्यकै संज्ञा दिएको छ ।
हुन त कोरोना उपचारदेखि केरापालन र मरिचको काठ बेच्ने सपनाका ज्ञाता ओलीको विकल्पको चर्चा पार्टीभित्रै पनि हुने गरेको छ । तर अझै २५ वर्ष नसोच्न भन्दै आफ्ना नेताको सातो खाएका उनी बोली सुधार्नभन्दा प्रश्न गर्नेलाई सकाउनेमै केन्द्रित छन् । जसको उपज पार्टी फुट्नेदेखि कारबाहीको लिस्ट बढ्नेसम्मको अवस्था एमालेले भोगिसकेको छ । यसबाहेक कुहिएको आँपको संज्ञा मधेशी नागरिकका मनमा कायमै रहँदा पहिचानवादीको झापडसमेत उनले भेटेका थिए । तर यी सबैलाई राष्ट्रभक्त नेताविरुद्धको घेराबन्दी भन्दै उनका आसेपासेले व्याख्या गर्दा ओलीले देखेको सत्य पनि त्यति नै हो । जसले प्रधानमन्त्री ओलीका सन्दर्भमा सम्राटको अनौठो लुगा लगाउने सपनाको कथा नदोहोरिएला भन्न सकिँदैन ।
प्रतिक्रिया